इङ्लिस प्रिमियर लिग फुटबल तालिकाको शीर्ष स्थानमा आसिन म्यानचेस्टर सिटीले आफ्नो पछिल्लो खेलमा पनि जित हात पारेको छ । उपाधि होडमा रहेको म्यान सिटीले शनिबार राति खेलिएको खेलमा लिड्स युनाइटेडलाई २—१ गोलले हराएको हो ।
घरेलु मैदानमा खेलिएको खेलमा म्यान सिटीको जितमा इल्की गुन्डोगन नायक बने । म्यान सिटीका लागि दुबै गोल उनले नै गरेका थिए । उनले नौ मिनेटको बीचमा दुई गोल गरेका हुन् । खेल सुरु भएको १९औं मिनेटमा पहिलो गोल गरेका गुन्डोगनले २७औं मिनेटमा अर्को गोल थपेका थिए ।
लिड्स युनाइटेडका लागि भने एकमात्र गोल निर्धारित समयको खेल सकिनुभन्दा ५ मिनेटअघि रोड्रिगो मोरेनोले गरेका थिए । त्यसअघि गुन्डोगन ह्याट्रिक गर्नबाट चुकेका थिए । खेलको ८४औं मिनेटमा गुन्डोगनको ससक्त प्रहार पोष्टमा ठोक्किएको थियो ।
जारी सिजनको लिगमा उपाधितर्फ अग्रसर म्यान सिटीले ३४ खेलबाट ८२ अंक बटुलेको छ । आफ्नो निकट्तम प्रतिद्वन्द्वी आर्सनलभन्दा म्यान सिटी ४ अंकले अगाडि छ । आर्सनलको समान खेलबाट ७८ अंक छ ।
प्रिमियर लिगमा अब अधिकांश टोलीले ४÷४ खेल खेल्न बाँकी छ । त्यसैले पनि प्रिमियर लिगको उपाधि यात्रा रोचक बन्दै गएको छ । लिड्स युनाइटेड भने ३५ खेलबाट ३० अंक जोडेर तालिकाको १७औं स्थानमा रहेको छ ।
सोही राति खेलिएको अर्को खेलमा चेल्सीले बर्नमाउथलाई ३—१ गोलले हरायो । चेल्सीका लागि कोनर गाालाघेर, बेनोइट र जाओ फेलिक्सले गोल गरे । बर्नमाउथका लागि भने एकमात्र गोल माटियस भिनाले गरेका थिए । ३४ खेलबाट ४२ अंक जोड्दै चेल्सी ११औं र ३५ खेलबाट ३९ अंक जोड्दै बर्नमाउथ १४औं स्थानमा छन् ।