भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ ।
भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनर्निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गिन ध्वजापताकाले सिँगारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति र वन्यजन्तु हेलम्बुका आकर्षण हुन् ।
पर्यटकीय गाउँ हेलम्बु आइपुगेका जाउलाखेल ललितपुरका विपुल शाक्य यहाँको सौन्दर्य देखेर छक्क पर्नुभयो । राजधानीको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने बहानामा हेलम्बु आइपुग्नुभएका उहाँले आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दङ्ग पर्नुभएको थियो ।
भूकम्पले गुम्बाको सहर भनेर चिनिने हेलम्बुको धार्मिकस्थलको ग्राउन्ड जिरो बनायो । पुनर्निर्माणमा आएका विविध समस्यालाई यहाँका स्थानीयको एकताले समाधान बनाएपछि अहिले माने, गुम्बा ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, माने देखेर आफू रमाएको शाक्यले बताउनुभयो । हेलम्बुभित्रको पनि पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उहाँले सुनाउनुभयो ।
“गाउँका मान्छेमा पाप हुँदैन भन्थे, अहिले आफैँले भोग्न पाएँ”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरताको वर्णन गर्न मेरो क्षमताले भ्याउँदैन, निकै राम्रो गाउँ रहेछ ।” उहाँले यहाँको परिवेश, संस्कृति नेपालभित्रकै नमुना हुनसक्ने बताउनुभयो । भूकम्प र कोरोनाले थलिएको पूर्वाधार, धार्मिकस्थलको पुनर्निर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तङ्ग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिकस्थल बिस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाअन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको सङ्ख्या बढेको हो ।