Spread the love

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक गुणस्तर वृद्धिसँगै सामुदायिक विद्यालयलाई अगाडि लैजाने संकल्प सरकारको रहेको बताएका छन्। शुक्रबार बौद्ध महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव समारोहमा सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका हुन्।

काठमाडौं महानगरपालिका वडा ६ स्थित जनकल्याण माविको वार्षिक उत्सवमा शुभकामना दिँदै शिक्षामन्त्री राईले भने, ‘सामुदायिक विद्यालयहरूको अवस्थालाई अहिले जहाँ छ त्यहाँबाट तल झर्न नदिने र त्यसलाई अगाडि बढाएर लैजाने संकल्प सरकारको छ। त्यसका निम्ति अनेक पक्षमा ध्यान दिनुपर्छ।’

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अभिभावक, शिक्षक र विद्यालयको सहकार्य भए मात्रै सामुदायिक विद्यालय राम्रो हुने बताए। ‘सहकार्य नभएका विद्यालयको स्तर राम्रो छैन। शैक्षिक गुणस्तरीयता छैन’‚ उनले भने, ‘सबैको सहकार्य र शिक्षकहरूको मेहनतले यो विद्यालय यहाँसम्म आइपुगेको हो’‚ उनले भने।

उनले विद्यार्थीले ४ जिपिए ल्याएर मात्र उपलब्धि नमानिने बताए। उनले भने,‘४ जिपिए ल्याए भन्ने होइन,पाठ्यक्रममा भएका ज्ञान र सीप कति सिके भन्नेले फरक पार्छ। यी सबै कुरा जान्न आवश्यक छ र जानेका सीप पनि प्रयोग गर्नुपर्छ।’

उनले शिक्षक दरबन्दीको समस्या समाधान गर्न माग गरे। ‘माध्यमिक तहमा शिक्षकहरू कम छन्। त्यसैले शिक्षक दरबन्दी थप्नुपर्ने अवस्था छ। राज्यले बजेट निर्माणमा यो व्यवस्था गर्नुपर्छ। शिक्षालाई प्राथमिकता राख्नुपर्छ, सबै मिले मात्रै लक्ष्य हासिल गर्न सकिन्छ’, उनले भने

उक्त कार्यक्रममा जनकल्याण माविकी प्रधानाध्यापक कुमारी कमला राईले गोठालो भनेर चिनिएको जनकल्याण अहिले उत्कृष्ट विद्यालय बनेको बताइन्।
उनका अनुसार उक्त विद्यालय २०१० सालमा स्थापना भएको थियो। तैपनि संरचना अभावले पाटीमा पठनपाठन भएको थियो।

‘म लगायत हाम्रो टिमले आजको यो समाजमा यस्तो अवस्थामा देखाउन धेरै मेहनत परिश्रम गरेका छौँ,’उनले भनिन्, ‘जसकारण अहिले अभिभावकहरूको रोजाइमा परेको छ, भर्ना खोलेको ३ दिनमै ठाउँ अभावले भर्ना कार्यक्रम नै बन्द गर्ने अवस्थामा पुग्यौँ।’

उनले पाँच वर्षदेखि सैद्धान्तिकमा मात्र नभई विभिन्न सीपमूलक कार्यक्रम पनि चलाइरहेको उनले बताइन्। ‘हामी गुणस्तरीय शिक्षासँगै संस्कार, सीप, सांस्कृतिक र चाडपर्व मनाएर व्यावहारिक रूपमै देखाउँछौँ’‚ उनले भनिन्, ‘७७ वटै जिल्लाकै यो प्रथम विद्यालय बनाउने हाम्रो धोको छ।’

जनकल्याण विद्यालयको शैक्षिक, भौतिक संरचना लगायत सबैमा सुधार गरेर अब्बल बनाए पनि राज्यबाट केही मूल्यांकन नभएको उनले गुनासो गरिन्।

उनले आगामी कात्तिकमा अनिवार्य आफू अवकाश हुन लागेको जानकारी दिँदै विद्यालय व्यवस्थापन टिमले यो विद्यालय व्यवस्थापनको साख जोगाउँदै अझै थप सुधार गर्नेमा आशावादी रहेको बताइन्।

उक्त विद्यालयले हिजो (बिहीवार) र आज(शुक्रबार) गरी दुई दिन ७० औँ वार्षिकोत्सव मनाएको छ। समारोहमा उत्कृष्ट शिक्षक, अनुशासित शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतलाई पुरस्कार तथा सम्मान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *