Spread the love

तुलनात्मक लाभको वस्तुका रूपमा प्रवद्र्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो । 

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो । 

गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ८४ हजार रुपियाँ बराबरको ७३ लाख १८ हजार ३५ किलो अदुवा निर्यात भएको थियो । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब ४१ करोड ४५ लाख छ हजार रुपियाँ बराबरको एक करोड १९ लाख ५८ हजार ८९३ किलो अदुवा निर्यात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ हजार ९१२ हेक्टर क्षेत्रफलमा  दुई लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको छ । 

आव २०७६/७७ मा २३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा दुई लाख ९८ हजार ९४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतमा निर्यात हुने गर्छ । भारतमा अदुवा उत्पादनमा कमी हुने बित्तिकै स्वदेशी अदुवाको माग बढ्ने गरेको व्यवसायीको भनाइ छ । मसला उत्पादनमा भारत विश्वकै ठूलो बजार भएकाले अदुवाको माग भारतमा अत्यधिक बढेकाले निर्यात पनि बढेको व्यवसायी बताउँछन् । 

हाल नेपालको पाल्पा, सिन्धुली, धादिङ, प्युठान, ताप्लेजुङ, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवनलगायत जिल्लामा व्यावसायिक रूपमा अदुवाको खेती हुने गरेको छ । मसला र औषधिका रूपमा अदुवाको प्रयोग बढी हुने गर्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *