नेपालको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँची निर्यात ६५ प्रतिशतले बढेको छ ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा छ अर्ब ३५ करोड ७७ लाख ७० हजार रुपियाँ बराबरको ७८ लाख ७१ हजार ३१९ किलो अलैँची निर्यात भएको हो । गत वर्ष सो अवधिमा तीन अर्ब ८५ करोड २५ लाख ७१ हजार रुपियाँ बराबरको ४२ लाख ६८ हजार ८५३ केजी अलैँची निर्यात भएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैँची निर्यात भएको छ । नेपालले पाँच वर्षको अवधिमा २५ अर्ब ६९ लाख ७० हजार बराबरको अलैँची निर्यात गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको पाँच हजार ३६७.४४ मेट्रिक टन अलैँची निर्यात गरेको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब दुई करोड २४ लाख ९३ हजार रुपियाँ बराबरको आठ हजार ८५७.३४ मेट्रिक टन अलैँची निर्यात गरेको थियो । त्यस्तै नेपालले आव २०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख रुपियाँको अलैँची निर्यात गरेको छ भने आर्थिक वर्ष २०७५/७६ मा चार अर्ब २८ करोड ४२ लाख रुपियाँ अलैँची निर्यात भएको थियो । अलैँचीको निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गरी बढ्दो व्यापार घाटा कम गर्न सकिने विज्ञहरूको भनाइ छ ।
१५ हजार हेक्टरमा अलैँची खेती
अलैँची पूर्वी नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । अलैँची निर्यातको मुख्य बजार भारत हो । भारतसँगै चीन, यूएई, पाकिस्तानलगायतका देशमा पनि नेपाली अलैँची निर्यात हुने गर्दछ ।
नेपालबाट निर्यात भएको अलैँची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बङ्गलादेशमा पठाउने गरेको पनि केन्द्रले जनाएको छ । यस्तै नेपालमा आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको तथ्याङ्क छ । अलैँची, सङ्खुवा सभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गालगायत अन्य जिल्लामा खेती हुने गरेको छ ।
अदुवा निर्यात १०५ प्रतिशतले बढेर नौ महिनामा साढे आठ अर्बको निर्यात पुग्यो भने अलैँची निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ ।