२४ बैशाख २०८१, सोमबार

सुमेरुका तीन सय ७३ बचतकर्ताले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दिए जाहेरी

फाेर्स दैनिक

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएपछि सुमेरुका तीन सय ५३ बचतकर्ताले बुधबार जिल्ला प्रशासन कार्यालयमा ठगी र अपचलन मुद्दामा सहकारीका सञ्चालक तथा पूर्वसञ्चालकहरु बिरुद्ध जाहेरी दिएका छन् ।

ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलको सिफारिस समेतमा सुन्दरकृष्ण महर्जन सहित तीन सय ७३ जना बचतकर्ताले उक्त सहकारीबाट आफूहरूले पाउनुपर्ने २० करोड रुपैयाँ बचत फिर्ता नपाएको र सहकारीका सदस्यहरुको आठ अर्ब भन्दा बढि बचत फिर्ता नभएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जाहेरी  दिएका हुन् ।

सुमेरु सहकारीका बचतकर्ताहरु बुधबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई जाहेरी पत्र  बुझाएका  हुन् ।

सहकारीमा जम्मा गरेको बचत फिर्ता हुने सुनिश्चितता नभएकोले सञ्चालक तथा पूर्वसञ्चालक बिरुद्ध जाहेरी दिनु परेको धापाखेलका बचतकर्ता सुन्दरकृष्ण महर्जनले जानकारी गराउनु भयो ।

“हामी अहिले यहाँ आएका ३ सय ७३ जनाको २० करोडभन्दा बढि बचत फिर्ता पाउन बाँकी छ । बचत फिर्ताका लागि सहकारीमा माग्न जाँदा सामान्य शिष्टाचार पनि हुँदैन । सहकारीका बचतकर्ता भएपनि सुमेरुले सञ्चालन गरेको हस्पिटलमा समेत हामीले उपचार पाउन सक्दैनौं । सहकारीको बचत दुरुपयोग गरेर सञ्चालक र पूर्वसञ्चालकहरुका १८ प्राइभेट कम्पनीमा लगानी भएको छ । हाम्रो बचत फिर्ता हुने सुनिश्चितता भएन । त्यसैले उनीहरुको सम्पति बेचेर भएपनि हाम्रो बचत फिर्ताका लागि हामीले जाहेरी दिएका हौ ।” पीडित बचतकर्ता महर्जनले भन्नुभयो ।

सहकारीका संस्थापक तथा पूर्वअध्यक्ष भरत महर्जन सहकारीमा समस्या आएपछि देश छोडर भागेको पनि एक बर्ष भइसकेको र बर्तमान सञ्चालकबाट केही नहुनेदेखेपछि आफूहरु बाध्य भएर प्रशासन कार्यालय, सहकारी विभाग, प्रहरी कार्यालय, अदालत धाउनु परेको अर्का पीडित बचतकर्ता रामगोबिन्द महर्जन बताउनु भयो ।

“सहकारीले सात आठ सय करोड फिर्ता गर्नुपर्ने देखिन्छ । सामान्य बचतकर्तासंग ओैषधि किन्ने पैसा समेत भएन, माग्न जाँदा पैसा छैन भन्छ, सहकारीका सञ्चालक तथा पूर्वसञ्चालकहरु सेवा सुविधा उपयोग गर्ने, मोजमस्ती गर्ने, जिम्मेवारीबाट पञ्छिने गर्छन् । आपत परेपछि पूर्वसञ्चालक भरत महर्जन बिदेश भागे । हामीलाई थाहै नदिई वर्तमान सञ्चालकले सम्पति बेचेर पैसा अपचलन गर्न थाले । पैसा पाइन्छ भन्ने आश नै भएन। हाम्रो कमाई सबै त्यहीँ भएपछि हामी त खत्तम भयौं नि !”महर्जनले भन्नुभयो ।

चार पटक सहकारी रजिस्ट्रार कार्यालय पुग्दा पनि समस्या समाधान नभएको बताउनुहुँदै बचतकर्ता अशोक दाहालले धापाखेल शाखाका बचतकर्ताहरुको मात्रै १ अर्ब ८७ करोड फिर्ता हुनुपर्ने रकम रहेको बताउनु भयो ।

“सञ्चालक तथा पूर्वसञ्चालकहरुले दर्ता गरेको १८ वटा कम्पनीमा पैसा छ। भएको सम्पति पनि बेचेर भाग्ने डर छ । विभागमा पनि यही भनेका छौं। पहल भएन, सञ्चालक तथा पूर्वसञ्चालकहरु सम्पत्ति लुकाउन श्रीमतीसंग डिभोर्स गरेरै भएपनि बचतकर्तालाई झुक्याउन लागिपरेका छन् ।” दाहालले भन्नुभयो ।

सुमेरुका कर्मचारीले मात्रै ८७ करोड बचत ब्यक्तिगत रुपमा अपचलन गरेको बताउँदै त्यही मात्रै आएपनि सहकारीको समस्या तत्कालका लागि समाधान हुने  दाहालले बताउनु भयो ।

पीडित बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाउँदा गाउँ नै शोकाकुल अवस्थामा रहेको गुनासो गरे । प्रमुख जिल्ला अधिकारी सामु उनीहरुले बचत फिर्ता नपाउँदा पीडाका कारण कोही पनि सुत्न सक्ने अवस्थामा नरहेको र धेरै बचतकर्ता मानसिक रोगी भैसकेको गुनासो समेत गरे ।

जाहेरी बुझेर जाहेरीकर्ताहरुको गुनासो सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रशासन कार्यालयको काम शान्ति सुरक्षा कायम गर्ने भएको बताउनु हुँदै समस्या समाधानका लागि सहकारी विभाग र मन्त्रालयमा पत्राचार गरि समाधानका लागि पहल गर्ने जानकारी गराउनु भयो । “हाम्रो काम शान्ति सुरक्षा कायम गर्ने हो,सहकारी बिभागमा पत्राचार गर्छौं । अधिकार क्षेत्रभित्र नभएकोले सबै हामीले गर्न सक्ने अवस्था छैन । राजिष्ट्रार कार्यालय र मन्त्रालयसंग समन्वय गरेर समस्या समाधानका लागि पहल गर्छौं ।” प्रजिअ श्रेष्ठले भन्नुभयो ।

सहकारी दर्ता  र नियमन गर्ने निकायले सञ्चालनमा भएको कमजोरीको पनि जिम्मा लिनुपर्छ भन्नुहुँदै सहजीकरण गरेर सकरात्मक बाताबरण तयार गर्न लागिपर्ने बताउनु भयो ।

११ माघ २०८०, बिहीबार १५:२९ मा प्रकाशित
Nabintech