२४ बैशाख २०८१, सोमबार

विद्यालय बन्द नगर्नुस्, विधेयक फिर्ता हुन्छ – महामन्त्री गगन थापा

फाेर्स दैनिक

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका छन‍्।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्।

शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाई छ।

‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’

उनले शिक्षकहरूलाई आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।

‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ उनले भने।

शिक्षक महासंघ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बिहीबार पनि प्रदर्शन गरिरहेका छन्।

४ आश्विन २०८०, बिहीबार ११:४६ मा प्रकाशित
Nabintech