१२ श्रावण २०८१, शनिबार

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा

फाेर्स दैनिक

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन्। ७ महिना हिरासतमा बसेका रिजाल आज (बुधवार) रिहा भएका हुन्।उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराले रिजाललाई धरौटी बुझाएपछि रिहा गरेको हो। अदालतले १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

काठमाडौँ जिल्ला अदालतमा आइतवार बेलुकी धरौटी रकम बुझाएका रिजाल बुधवार मात्रै रिहा भए। रिजालले रिहा हुनुअघि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिए।

रिजाल अब पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। सम्पत्ति शुद्धीकरणले माघ १५ गते उनलाई हाजिर हुन भनेको छ। रिजालले विभागमा थप धरौटी बुझाउनु परेको छ। अख्तियारमा भने रिजालको बयानमात्रै भएको छ।

रिजाललाई स्वागत गर्न मानवअधिकारवादीहरूको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको थियो।रिजालको रिहाइका लागि परिवारले धरौटी रकम जुटाएको हो। क्यानडामा रहेका छोरा विक्रमले बुबाको रिहाइका लागि नेपालमा रकम पठाएका थिए।

‘धरौटी जम्मा परिवारले नै गर्‍यो। माध्यममात्रै बनेको हुँ,’ अमेरिका बस्ने भुटानी शरणार्थी विश्वनाथ क्षेत्रीले भने, ‘नेपाल आउँदा रिजालको रिहाइका लागि संयोजन गर्ने मौकामात्रै पाएको हुँ।’

आर्थिक सहयोग भने उनले गरेका होइनन्। ‘मेरो संयोजन मात्रै हो,’ क्षेत्रीले भने, ‘रकम जुटाउने सबै काम परिवारले नै गरेको हो।’

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानको नेतृत्व लिँदा पक्राउ परेका थिए रिजाल। बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलले दिएको सुझावमा थप व्यक्तिको नाम समावेश भएपछि नक्कली भुटानी शरणार्थी प्रकरण शुरु भएको हो।

उनी जेलमा परेपछि उनको परिवार अत्यन्तै चिन्तित भएको थियो तर उनका ३ छोरा भने यहाँ उनका साथमा थिएनन्। नेपालमा श्रीमती कौशिला र टेकनाथ मात्रै थिए।टेकनाथ जेल परेपछि परिवारले दाल चामल किन्ने रकमसमेत पाएन। जीविकोपार्जनसमेत कठिन भएपछि उनको परिवारले आफूसँग भएको एउटा गाडी पनि बिक्री गर्नुपरेको थियो।

११ पुष २०८०, बुधबार १९:१४ मा प्रकाशित
Nabintech