१२ श्रावण २०८१, शनिबार

एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना

फाेर्स दैनिक

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो ।

रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले खेतीयोग्य जमिन तथा माटोको उर्वर शक्तिमा ह्रास आइरहेको अवस्था समेतलाई दृष्टिगतगरी अनुसन्धान केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार परम्परागत कृषि प्रणालीबाट आधुनिकतातर्फ उन्मुख गराई उनीहरूको जीविकोपार्जनमा सहयोग गर्ने मुख्य उद्देश्य राखेर एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रको अवधारणा ल्याइएको हो ।

अनुसन्धान केन्द्र स्थापनाले माटोको उर्वर शक्ति कायम राख्न साथै अर्ग्यानिक र स्वास्थ्यकर कृषिउपज उत्पादकत्व बढाउनमा टेवा पुग्ने विश्वास गाउँपालिकाले राखेको छ । आधुनिक कृषि प्रणालीअन्तर्गत जैविक तथा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादनमा वृद्धि साथै आधुनिक कृषि प्रणालीको विकास गर्ने लक्ष्य राखिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

फक्ताङ्लुङ कृषि तथा पशुपालन अनुसन्धान केन्द्र नाम दिएर सुरु गरिएको कृषि योजना गाउँपालिकाको मात्र नभई सिङ्गो जिल्लाकै नमुना भएको अध्यक्ष लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्गवाले बताउनुभयो । आधुनिक कृषि प्रणाली र पशुपालन कर्ममा परिवर्तन ल्याई आगामी पाँच वर्षभित्र फक्ताङ्लुङ गाउँपालिकालाई अर्ग्यानिक पालिका घोषणा गर्ने गाउँपालिकाको योजना रहेको जनाएको छ ।

उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको छिरुवामा करिब १० रोपनी जग्गा भाडामा लिएर अनुसन्धान केन्द्र स्थापना गरी विभिन्न तरकारी खेती र पशुपन्छी पालन सुरु गरिएको छ । गाउँपालिकाको लगानी रहेको अनुसन्धान केन्द्रमा अर्ग्यानिक तरकारी उत्पादन गर्न एक दर्जन बढी प्लास्टिक टनेल बनाएर विभिन्न तरकारी खेती सुरु गरिएको छ ।

यस्तै, उन्नत जातका गाई, बयर जातका बाख्रा र उन्नत जातको बङ्गुर पालनसमेत सुरु गरिएको छ । कृषि बाली अर्थात् तरकारी खेतीमा प्रयोग गर्ने जैविक तथा प्राङ्गारिक मल हिमालयन एग्रो इकोलोजी रिसर्च एण्ड डेभलपमेन्ट नामक संस्थाको प्राविधिक सहयोग रहेको छ ।

हाल छुट्टै संरचना निर्माण गरेर जैविक झोल मल तथा ढुसी मल उत्पादनको कार्य भइरहेको छ भने चाँडै गँड्यौला अर्थात् प्राङ्गारिक मल उत्पादन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । अनुसन्धान केन्द्र स्थापनापछि गाउँपालिकाका प्रत्येक वडा तथा टोल–टोलका किसानलाई ल्याएर तरकारी खती र पशुपालन विधिको अवलोकन गराउने गरिएको छ ।

तरकारी खेती र पशुपालन प्रणालीसम्बन्धी अनुसन्धान केन्द्रमा फक्ताङ्लुङ तालिम प्रदान गरिने छ भने तालिम पश्चात् उनीहरूलाई आ–आफ्नो ठाउँमा गएर खेती गर्न र पशुपालन विधि अपनाउन उत्प्रेरित गरिने बताइएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिउपजको बजार व्यवस्था तथा बजारीकरणमा गाउँपालिकाले सघाउने पालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले जानकारी दिनुभयो ।

२९ भाद्र २०८०, शुक्रबार २०:४१ मा प्रकाशित
Nabintech