५ जेष्ठ २०८१, शनिबार

एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण

फाेर्स दैनिक

ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरेको छ । सोमबारबाट सुरु गरिएको प्रत्यारोपण मङ्गलबार बिहान सम्पन्न भएको छ ।अस्पतालका मेडिकल निर्देशक सुरज बज्राचार्यले १८ घण्टाभन्दा बढी समय लगाएर एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा यो शल्यक्रिया इतिहासमै पहिलो पटक र दुर्लभ भएको दाबी गर्नुभयो ।

कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति चितवनको भरतपुरनिवासी ३४ वर्षीया महिला हुन् । उनलाई ३५ वर्षीय श्रीमान्ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी थिइन् । उक्त शल्यक्रिया सम्पन्न गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा. निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा. अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. सञ्जीव अनेजाको सहभागिता रहेको थियो ।

उहाँले जटिल शल्यक्रियाका लागि अस्पतालले ‘मल्टिडिसिप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियू क्रिटिकल केयर विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिक गरी एक सय जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको बताउनुभयो ।

ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंहले तीन वटा अप्रेसन थिएटर एकै साथ प्रयोग गरी शल्यक्रिया गरिएको बताउनुभयो । उहाँले पहिले कलेजो प्रत्यारोपण र त्यसपछि मिर्गौला प्रत्यारोपण गरिएको बताउनुभयो ।

२४ आश्विन २०८०, बुधबार ०६:२३ मा प्रकाशित
Nabintech