६ जेष्ठ २०८१, आईतवार

इन्जिनियरिङमा स्नातक गरेका ६ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम

फाेर्स दैनिक

इन्जिनियरिङमा स्नातक गरेका छ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो । परीक्षा आगामी मङ्सिरमा सञ्चालन गरिने छ ।

परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले आवेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताउनुभयो । विगतमा आवेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत वर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो । परिषद्ले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो ।

गत परीक्षामा धेरै असफल भएका थिए । पहिलो पटक सञ्चालन गरिएको परीक्षामा दुई हजार छ जनामध्ये ५६५ जना सफल भएका थिए । सो परीक्षामा २८.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । विदेशमा अध्ययन गरेका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ उत्तीर्ण भएका थिए । परिषद्ले लिएको दोस्रो पटकको परीक्षामा दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण भएका थिए । अहिले इन्जिनियरिङ परिषद्ले एक सय पूर्णाङ्कमा ५० अङ्क ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था गरेको छ । परीक्षामा सबै प्रश्न वस्तुगत हुने गरेको छ । नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् ।

 

२४ आश्विन २०८०, बुधबार ०६:३० मा प्रकाशित
Nabintech