१२ श्रावण २०८१, शनिबार

कांग्रेसका तिहार अघिका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

फाेर्स दैनिक

नेपाली कांग्रेसले तिहार अघिका पूर्व निर्धारित सबै सार्वजनिक कार्यक्रमहरु स्थगन गरेको छ । शुक्रबार मध्यरात जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा गएको विनाशकारी भूकम्पले ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको भन्दै कांग्रेसले पूर्व निर्धारित कार्यक्रम स्थगन गरेको हो। पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न तिहार अघिका सबै कार्यक्रम स्थगित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। यद्यपि महासमिति सदस्य चयनको कार्यक्रम भने स्थगित नहुने कांग्रेसले जनाएको छ ।

‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ ।’

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले स्तब्ध बनाएको भन्दै कांग्रेसले देश र विदेशमा रहेका सबैलाई मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको छ। यसअघि एमालेले पनि जिल्लास्तरमा तोकिएका चाडपर्वहरूका शुभकामना आदानप्रदानका कार्यक्रम स्थगित गरेको थियो ।

१९ कार्तिक २०८०, आईतवार ०८:०५ मा प्रकाशित
Nabintech