१२ श्रावण २०८१, शनिबार

सर्वदलीय राष्ट्रिय सरकार बनाऔं : डा. भट्टराई

फाेर्स दैनिक

नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वदलीय राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् । उनले त्यस्तो सरकार ‘सबैले मान्ने मान्छे’ को नेतृत्वमा बनाइनुपर्ने बताएका छन् ।नेपाली कांग्रेसले सोमबार आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसमा डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डकै अगाडि उभिएर भने, ‘प्रधानमन्त्रीलाई समस्या छ । १० पार्टीको सरकार चलाउनुहुन्छ, एउटालाई चलाइदियो भने भ्यागुताको धार्नी यता–उता उफ्रन्छ । सरकार कुनबेला जाने भन्ने समस्या छ । अनि कसरी सुशासन, कसरी समृद्धि ल्याउने ? त्यसैले यसको समग्रतामा हल खोजौं ।’

भट्टराईको प्रस्ताव छ, ‘सबै प्रमुख दलहरुको संयुक्त सरकार बनाऔं । किन भागबण्डा गर्नुपरेको छ ? एउटा सबैले मान्ने मान्छेको नेतृत्वमा पाँचै वर्ष सरकार चलाऔं । नीति कार्यक्रम बनाऔं, त्यसलाई कार्यान्वयन गरौं ।’बाबुरामले भनेको ‘सबैले मान्ने मान्छे’ को हो ? प्रधानमन्त्री प्रचण्ड स्वयंले त्यस्तो व्यक्ति आफू भएको दाबी गर्दै आएका छन् । आफ्नो सरकारलाई कांग्रेस र एमाले दुबै दलले विश्वासको मत दिएको हुनाले आफू राष्ट्रिय सहमतिको ‘नेता’ भएको प्रचण्डको बुझाइ देखिन्छ । तथापि बाबुरामले राष्ट्रिय सहमतिको सरकार बनाऔं भनिरहँदा प्रष्टरुपमा प्रचण्डकै नेतृत्व मानौं भनेका छैनन् ।

प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी बनेको कार्यक्रममा डा. भट्टराईले प्रश्न गरे, ‘पुराना पार्टी, पुराना नेताहरुबाट भएन, नयाँ चाहियो भन्ने आवाज उठेको छ । म त ०७२ सालदेखि सत्तामा छैन । तर, साथीहरु त हुनुहुन्छ त पटक–पटक । खासै १९ को २० बाहेक केही पनि हुन किन सकेको छैन ?’ डा. भट्टराईले अहिलेको संरचनामा परिवर्तन नगरी व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउन नसकिने बताउँदै त्यसका लागि केही विकल्पसमेत प्रस्तुत गरे ।

१७ पुष २०८०, मंगलवार ०७:५५ मा प्रकाशित
Nabintech