१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन कस्ताे छ बागमतीको अङ्कगणित हेर्नुहाेस

फाेर्स दैनिक

केन्द्रीय समीकरण अनुसार सत्ता गठबन्धन एक ढिक्का बनेर निर्वाचनमा होमिने तयारी गरेको छ भने एमाले एकल रूपमा निर्वाचनमा जाँदैछ । बागमती प्रदेशको स्थानीय तह र प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत रहेको छ । आगामी निर्वाचनको नतिजा सत्ता गठबन्धनको पक्षमा आउने सहजै अनुमान गर्न सकिन्छ ।

एमालेले बागमती प्रदेश अन्तर्गतको ४ वटै सिटमा उम्मेदवार खडा गरेको छ भने सत्ता गठबन्धनले सिट भागबन्डा गरेर मिलाएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भागबन्डाका क्रममा कांग्रेसले राष्ट्रिय सभा सदस्य पदको महिला र अन्य क्लस्टरमा निर्वाचन लड्ने, माओवादी केन्द्रले अपाङ्गता/अल्पसङ्ख्यक र एकीकृत समाजवादीले दलित क्लस्टरमा भाग लिने सहमति गरेको थियो । सोही अनुसार दलहरूले उम्मेदवार तय गरेका छन् ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । माओवादीले बागमतीमा श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशसभामा पनि सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहेको छ । कुल ११० सांसद मध्ये प्रदेशसमामा गठबन्धनको ६५ सिट रहेको छ । प्रदेशसभामा गठबन्धनको ठुलो दल कांग्रेसका ३७ सांसद छन् भने माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् ।

राष्ट्रिय सभा सदस्य पदका लागि प्रदेश सांसदहरूको मतभार ५३ कायम गरिएको छ । जस अनुसार राष्ट्रिय सभा सदस्य पदका लागि कांग्रेसका १ हजार ९६१ मत कायम हुन आउँछ भने माओवादी केन्द्रको १ हजार ११३ र एकीकृत समाजवादीको ३७१ गरी सत्ता गठबन्धनको कुल २ हजार ४४५ मत रहेको छ ।

२ जना सांसद रहेको हाम्रो नेपाली पार्टीको समर्थन पनि सत्ता गठबन्धनमा रहेकाले उनीहरूको समर्थन पनि गठबन्धन कै उम्मेदवारलाई रहने देखिन्छ । जसअनुसार हाम्रो नेपाली पार्टीको २ सांसदको १०६ मत जोडिँदा सत्ता गठबन्धनको कुल मत २ हजार ५५१ मत कायम हुन आउँछ ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल २७ जना सांसद रहेका छन् । उक्त सांसदको १ हजार ४३१ मत एमालेका उम्मेदवारलाई आउँछ । विपक्षी दल राप्रपाले पनि राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवार उठाउने देखिन्छ । जस अनुसार राप्रपाका १३ सांसदको ६८९ मत सो दलका उम्मेदवारले पाउने छन् । नेमकिपाको आफ्नै उम्मेदवारले प्रदेशसभाका ३ सांसदको १५९ मत पाउनेछन् ।

यता प्रदेशको ११९ स्थानीय तहका २३८ प्रमुख र उपप्रमुख मध्ये २३७ जनाले राष्ट्रिय सभा सदस्य पदमा मतदान गर्नेछन् । दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते मृत्यु भएपछि सो पद रिक्त छ । सो बाहेकका २३७ पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको कायम गरिएको छ । जस अनुसार बागमतीका २३७ स्थानीय तहका प्रमुख र उपप्रमुखको कुल मत ४ हजार ५०३ कायम हुनेछ ।

जसमा स्थानीय तहतर्फ प्रमुख र उपप्रमुखमा पनि कांग्रेस नै अगाडी रहेको छ । स्थानीय तहहरूमा कांग्रेसका १०७ जना प्रमुख र उपप्रमुख रहेका छन् भने माओवादी केन्द्रको ५७, एकीकृत समाजवादीका ९ जना रहेका छन् । १९ मतभार अनुसार कांग्रेसको २ हजार ३३ मत स्थानीय तहका प्रमुख र उपप्रमुखको कायम हुनेछ भने माओवादी केन्द्रको १ हजार ८३ र एकीकृत समाजवादीको १७१ मत कायम हुनेछ । सोही अनुसार सत्ता गठबन्धनको स्थानीय तह रहेका १७३ जना प्रमुख र उपप्रमुखको ३ हजार २८७ मत कायम हुन्छ ।

यता एमालेका स्थानीय तहमा ६० जना प्रमुख र उपप्रमुख रहेका छन् । उनीहरूको १९ मतभार गणना हुँदा १ हजार १४० कायम हुन्छ । बागमती प्रदेशमा अन्य ४ दलका ६४ जना पालिका प्रमुख र उपप्रमुख रहेका छन् । जसमा राप्रपा, नेमकिपा तथा स्वतन्त्रबाट निर्वाचन जितेकाहरू रहेका छन् । उनीहरूको १९ मतभार गणना गर्दा १ हजार २१६ मत कायम हुन्छ ।

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेशसभा र स्थानीय तहको समेत गरी सत्ता गठबन्धनको ६ हजार ९३८ मत कायम हुन आउँछ भने एमालेको प्रदेश र स्थानीय तहमा समेत गरी २ हजार ५९८ मत कायम रहनेछ । प्रदेश र स्थानीय तहका अन्य दल र स्वतन्त्र गरी २ हजार ८० मत कायम हुनेछ ।

प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मत गरी कुल १० हजार ३३३ मत कायम हुनेछ । जसमा सत्ता गठबन्धनको ५ हजार ८३८ मत कायम हुनेछ भने एमालेको २ हजार ५७१ मत रहनेछ ।

२३ पुष २०८०, सोमबार ०९:५४ मा प्रकाशित
Nabintech