१२ श्रावण २०८१, शनिबार

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजुको माग

फाेर्स दैनिक

नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो ।

सभापति राणाले भन्नुभयो, ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ । विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ ।’’

उहाँले यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको बताउनु भयो । विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय धेरै देशमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि भनाइ राख्नुभयो । सभापति राणाले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्न भन्नुभयो ।

सभापति राणाले भन्नुभयो, ‘‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ । विवाहका लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु सन् २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौँ भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ ।’’

उहाँले नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरूले विवाह गर्ने गरेका छन् कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्छ भन्नुभयो ।

२६ पुष २०८०, बिहीबार २०:४४ मा प्रकाशित
Nabintech