१२ श्रावण २०८१, शनिबार

दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने

फाेर्स दैनिक

गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।

पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।

तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर यसपटक चट्टान काट्न थालिएको थियो । आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्यका अनुसार रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको छ ।

गत बर्षको भन्दा यसपटक प्रगति पनि अपेक्षाकृत नै रहेको उनले बताए । यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो । गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाँउबाट चट्टान काट्ने प्रयास गरिएको थियो ।

गत बर्ष झण्डै ३० प्रतिशत मात्रै भित्तो काट्न सकिएको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ । पछिल्लो तीन हप्तामा सडक बन्द गरेर ३५ मिटर अग्लो पहाडलाई १५ मिटर काटेर २० मिटरमा झारिएको आयोजनाले जनाएको छ । बाँकी २० मिटर थपिएको ३ हप्ता भित्र काट्ने योजना छ ।

जमिनको सतह नजिकै ल्याएपछि सवारी नरोकिकन पनि काम गर्न सकिने आयोजनाले जनाएको छ । दैनिक ४ घण्टा भनेपछि ३ घण्टाभन्दा बढी समय ठेकेदार कम्पनीले काम गर्न नपाएको आयोजनाले दावी छ ।यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।

२६ पुष २०८०, बिहीबार २०:५७ मा प्रकाशित
Nabintech