१२ श्रावण २०८१, शनिबार

ललितपुरका ६ स्थानीय तहमध्ये कार्यसम्पादनमा महांकाल गाउँपालिका पहिलो

फाेर्स दैनिक

ललितपुरका ६ स्थानीय तहमध्ये कार्यसम्पादनमा महांकाल गाउँपालिका पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा महांकाल गाउँपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये महांकाल गाउँपालिका सबैभन्दा बढी अङ्क ३८ दशमलव ४४ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।

ललितपुरमा एक महानगरपािलका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । जसमा कोन्ज्योसोम गाउँपालिकाले ३४ दशमलव ८२ अङ्क हाँसिल गरी दोस्रो स्थान तथा ३० दशमलव १५ अङ्क प्राप्त गरी महालक्ष्मी नगरपालिका तेस्रो भएको छ । महालक्ष्मी जिल्लास्थित नगरपालिकामध्ये पहिलो भएको छ ।

आयोगको प्रतिवेदनअनुसार ललितपुरको अन्य स्थानीय तहमा गोदावरी नगरपालिकाले २७ दशमलव ३०, बागमती गाउपालिका २६ दशमलव ०१ र ललितपुर महानगरपालिका २५.१८ अंक प्राप्त गरी क्रमशः चौथौं, पाँचौ र छैठौं भएका छन् ।

सोही अनुसार बागमती प्रदेशले भने २७ दशमलव २९ अङ्क प्राप्त गरेको हो ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्न गर्दै आएको छ ।

यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

आयोगका अनुसार १० असारभित्र बजेट ल्याए र नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएको लगायतका आधारमा मूल्याङ्कन गरेको छ ।

स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहलेसमेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा पनि अङ्क दिएको छ ।

आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि मूल्याङ्कन वित्त आयोगले गरेको छ ।

स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको सङ्ख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई समेत सूचकमा राखिएको छ ।

१० फाल्गुन २०८०, बिहीबार ०९:५१ मा प्रकाशित
Nabintech