१७ असार २०८२, मंगलवार

साना तथा मझौला कम्पनीलाई आइपीओ निष्कासन गर्ने नियमावली लागू

फाेर्स दैनिक

नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१” लागू गरेको छ। नेपाल सरकारले स्वीकृत गरेसँगै बोर्डले एक सूचना जारी गर्दै उक्त नियमावली बिहीबारदेखि लागू गरेको हो।

यसका साथै नियमावली कार्यान्वयन गर्न सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीलाई पनि पत्राचार गरेको छ। यो नियमावली अनुसार न्यूनतम २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयरको सार्वजनिक निष्कासन गर्न सक्नेछन् ।

नियमावली अनुसार जारी भएको कम्पनीको आइपिओ खरिद गर्नको लागि न्यूनतम ५०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने कम्पनीले प्रति शेयर १०० रुपैयाँमा शेयर निष्कासन गरेमा आइपिओ भर्न कम्तीमा ५० हजार लाग्नेछ। शेयर बाँडफाँड गर्दा पनि न्यूनतम ५०० कित्ता नै बाँडफाँड गरिनेछ। आइपिओ बिक्री बन्द भएको १५ दिनमा आइपिओ बाँडफाँड गरिसक्नु पर्नेछ।

कुल निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर बिक्री प्रबन्धकले र १५ प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नुपर्ने छ। उनीहरुले सो शेयर ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् । पब्लिक कम्पनी बनेको १ वर्ष मै शेयर निष्कासन गर्न सक्नेछन् भने साथै रेटिङ पनि अनिवार्य गरिएको छैन , यद्यपि बोर्डले चाहेमा रेटिङको लागि निर्देशन दिन सक्नेछ। यो नियमावलीमा भएको व्यवस्था अनुसार थोरै चुक्ता पुँजी भएका कम्पनीको आइपिओ निष्कासनको लागि छुट्टै प्रक्रिया अपनाइनेछ।

३ माघ २०८१, बिहीबार २०:४४ मा प्रकाशित
Nabintech