५ जेष्ठ २०८१, शनिबार

बंगलादेशको हिरासतमा विपक्षी पाँच नेताको मृत्यु

फाेर्स दैनिक

बंगलादेशको विपक्षी दलले पछिल्लो दुई सातामा हिरासतमा आफ्ना पाँच सदस्यको मृत्यु भएको बताएको छ। बंगलादेश नेसनलिष्ट पार्टी बीएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको बताएको हो।

‘राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बीएनपी कार्यकर्ताहरूलाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ’, पार्टीका कानून प्रमुख कैसर कमालले भने, ‘हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ।’

बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्‍यालीपछि भएको ‘कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञ पक्राउ परेका छन्।प्रहरीले बीएनपीको गिरफ्तारीको संख्यालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन।

कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही हजार समर्थकहरू कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकहरूलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो ।

प्रहरीका अनुसार र्‍यालीपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको थियो।यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो ।

२५ मंसिर २०८०, सोमबार ०६:५४ मा प्रकाशित
Nabintech