१२ श्रावण २०८१, शनिबार

गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित

फाेर्स दैनिक

उत्पादनयामको सुरुवातमै गोलभेँडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । भर्खरै फल्न सुरु भएको गोलभेँडाको भाउ ह्वात्तै घटेपछि गोलभेँडा खेती गर्ने किसान निराश बनेका हुन् । यहाँका किसानले अहिले गोलभेँडा प्रतिकेजी १० रुपियाँदेखि १२ रुपियाँमा बिक्री गरिरहेका छन् ।

हरिवन नगरपालिका–२, अत्रौलीका किसान सोनमसिंह तामाङले एक क्रेट गोलभेँडा २५० रुपियाँको दरले बिक्री गरेको बताउनुभयो । एउटा क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । “शनिबार मात्रै एक क्रेटको २५० रुपियाँको हिसाबले २० क्रेट गोलभेँडा बिक्री गरेँ,” तामाङले भन्नुभयो, “यो मूल्यमा गोलभेँडा बेच्दा हैरान र लगानी खेर जान्छ । जन (कामदार) लाई दिने खर्च र मल तथा विषादीको खर्चसमेत उठ्दैन ।” जिल्लाका किसानले लगाएको गोलभेँडा अहिले धमाधम पाकेर टिप्ने बेला हुन थालेको छ ।

गोलभेँडा फल्ने सुरुवातकै समयमा मूल्य नपाउँदा लागत उठाउन मुस्किल पर्ने किसानको गुनासो छ । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान राजकुमार मोक्तानले यो बेला गोलभेँडाको मूल्य प्रतिक्रेट छ सयदेखि सात/आठ सयसम्म हुनुपर्नेमा दुई सयदेखि २५० रुपियाँसम्ममा बिक्री गर्नुपरेको गुनासो गर्नुभयो ।

“भर्खरै फल्न थालेको गोलभेँडा क्रेटको छदेखि आठ सयसम्ममा बिक्री हुनुपर्ने हो तर अहिले सुरुमै दुई सयदेखि २५० रुपियाँमा बेच्नु परेको छ,” मोक्तानले भन्नुभयो । अब दिनप्रतिदिन गोलभेँडा पाकेर बजारमा ठुलो परिमाणमा आउन थालेपछि भाउ अझ नपाउने हो कि भन्ने चिन्ता किसानलाई परेको छ ।

सर्लाहीमा उत्तरी भेगको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकामा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । यहाँका किसानले लालबन्दी, नवलपुर र तीनघरे लच्कामा लाग्ने बजारमा ल्याएर गोलभेँडा बिक्री गर्दै आइरहेका छन् ।

व्यापारीले काठमाडौँको कालीमाटीसहितका ठुला बजारमा पहाडी जिल्लाबाट गोलभेँडा भित्रिएकाले स्थानीय जातको गोलभेँडाले बजार नपाएको बताएका छन् । लालबन्दी बजारका तरकारी व्यापारी मोहम्मद उस्मानले काठमाडौँमा पहाडी जिल्ला र भारतबाट समेत गोलभेँडा भित्रिँदा यताबाट गोलभेँडा पठाउन नसकिएको बताउनुभयो ।

“ठुल्ठुला बजारमा पहाडी भेगका गोलभेँडा धेरै आएकाले यताबाट गोलभेँडा पठाउन सकिएको छैन,” व्यापारी उस्मानले भन्नुभयो, “सबैतिर गोलभेँडा उत्पादन हुन थालेकाले किसानले मूल्य पाउन नसकेका हुन् ।” उहाँले विगत तीन/चार दिनदेखि भने थोरै परिमाणमा काठमाडौँतर्फ गोलभेँडा पठाउन थालिएको जानकारी दिनुभयो ।

२५ मंसिर २०८०, सोमबार ०७:०१ मा प्रकाशित
Nabintech