१२ श्रावण २०८१, शनिबार

सरकारमा रहेका मन्त्रीको ‘सेट’ नै परिवर्तन गर्ने तयारी

मन्त्रीको सेट नै बदल्ने विषयमा करिब–करिब देउवा र प्रचण्डबीच सहमति भइसकेको छ।

फाेर्स दैनिक

यो सरकार बनेको एक वर्ष पुग्न लाग्दा अहिले सरकारमा रहेका मन्त्रीको ‘सेट’ नै परिवर्तन गर्ने तयारी सुरु भएको छ। स्रोतका अनुसार मन्त्रीको सेट नै बदल्ने विषयमा करिब–करिब देउवा र प्रचण्डबीच सहमति भइसकेको छ।गठबन्धन दलभित्रैबाट मन्त्री फेर्न तीव्र दबाब आएको उच्च स्रोतको दाबी छ। अहिलेका मन्त्रीले गठबन्धनमा सामेल दलका नेता र कार्यकर्तालाई नै असर गर्ने निर्णय गरेकाले सत्ता गठबन्धन दलका शीर्ष नेता नै असन्तुष्ट छन्।

मन्त्रीको सेट नै परिवर्तन गर्न तयार भएका गठबन्धनका शीर्ष नेताहरू व्यक्ति बदल्दा काममा तीव्रता आउने भन्दै आन्तरिक कुरा लुकाउने प्रयास गरिरहेका छन्। तर, मुख्य कारण भनेको अहिलेका मन्त्रीको आलोचना बढ्नु नै हो। यो बीचमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी निकालिएका थिए। मन्त्री सुदन किरातीले केही काम गरे जस्तो देखिए पनि उनी विवादमा मात्रै परिरहे। दाहाल नेतृत्वको २५ सदस्यीय मन्त्रीको कार्यसम्पदान एकदमै कमजोर देखिएको छ। धेरै मन्त्री त गुमनाम नै भएका छन्। विदेश भ्रमण गर्ने र आफ्नो दुनो सोझ्याउनेमा नै उनीहरू तल्लीन छन्। कार्यसम्पादन कमजोर भएको निहुँ बनाएर मन्त्रीको सेट नै परिवर्तन गर्ने गृहकार्य अहिले भइरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले सहितको गठबन्धनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी बन्यो। एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण पनि भयो।तर, नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भयो। र, अर्को गठबन्धनमा सरेर दाहाल नेतृत्वमा सरकार बन्यो।

 

२५ मंसिर २०८०, सोमबार ०७:३१ मा प्रकाशित
Nabintech