१२ श्रावण २०८१, शनिबार

कोइराला दोषी ठहर

न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालाको कसुर ठहर गरेको हो ।

फाेर्स दैनिक

विशेष अदालतले नेपाल बैङ्क लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई बैङ्कको रकम हिनामिनामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालाको कसुर ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि पुस ११ गतेको पेसी निर्धारण गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पुस ११ गते कोइरालाविरुद्धको मुद्दामा सजाय निर्धारण हुने बताउनुभयो । बैङ्कको झन्डै ५५ लाख रुपियाँ हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कोइरालामाथि बैङ्कको सिस्टम ह्याक गरेको, बैङ्कमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरेकोलगायतका अभियोग आयोगले लगाएको थियो । कोइरालाले शाखा कार्यालय डिल्लीबजार र काठमाडौँ बैङ्किङ अफिसमा रहँदा बैङ्कले प्रयोग गर्न दिएको सिस्टमको दुरुपयोग गरेको दाबी मुद्दामा आयोगले गरेको थियो । बैङ्कले व्यक्तिगत रूपमा प्रदान गरेको टेलर आइडी र सिस्टम सुपर युजरको दुरुपयोग गरेर अनधिकृत रूपमा आफ्नो खातामा रकम जम्मा गरेको अभियोग आयोगको थियो ।

आयोगले कुल ५४ लाख ८४ हजार ४५ रुपियाँ हिनामिना गरेको आरोप कोइरालामाथि लगाएको थियो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो र जरिबाना असुल गर्न माग गरेको थियो । यस्तै आयोगले ऐनको व्यवस्था अनुसार छदेखि आठ वर्षसम्म कैद दाबी पनि गरिएको छ । बिगो रकम भराउने आदेशको माग पनि आयोगले गरेको छ ।

२७ मंसिर २०८०, बुधबार ०६:४० मा प्रकाशित
Nabintech