१२ श्रावण २०८१, शनिबार

आठ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा घट्यो

फाेर्स दैनिक

पछिल्ला केही महिना औसतमा आठ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा भने घटेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार कात्तिकमा मूल्य वृद्धि ५.३८ प्रतिशतमा खुम्चिएको छ । असोजमा यस्तो दर ७.५० प्रतिशत थियो । २०७९ साल कात्तिकमा भने मूल्य वृद्धिदर ८.०८ प्रतिशत थियो ।

विवरण अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य समूह अन्तर्गतको सबैभन्दा धेरै मरमसला उपसमूहको ३६.४६ प्रतिशतले मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत सबैभन्दा धेरै मनोरञ्जन तथा संस्कृति उपसमूहको १२.८४ प्रतिशतले बढेको छ ।

भौगोलिक रूपमा सबैभन्दा धेरै हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको छ । कात्तिकमा उक्त क्षेत्रमा ८.७९ प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । त्यसपछि पहाडमा ६.०७ प्रतिशत, काठमाडौँ उपत्यकामा छ प्रतिशत र तराईमा ४.४२ प्रतिशतले मूल्य वृद्धि भएको उल्लेख छ । कात्तिकमा थोक मूल्य वृद्धि पनि घटेर २.०९ प्रतिशत कायम भएको छ । असोजमा यस्तो दर २.७८ प्रतिशत थियो ।

मुलुक भित्रिएको र बाहिरिएको रकमको अन्तर जनाउने शोधनान्तर स्थिति कात्तिकसम्म उच्च बचतमा देखिएको छ । राष्ट्र बैङ्कका अनुसार कात्तिकसम्म शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब रुपियाँले बचतमा रहेको छ जबकि गत वर्षको कात्तिकमा यस्तो स्थिति २० अर्ब तीन करोड रुपियाँले मात्र बचतमा थियो । अमेरिकी डलरमा भने यस्तो बचत एक अर्ब ११ करोड डलरले बचतमा रहेको छ । चालु खाता पनि कात्तिकसम्म ९६ अर्ब ३८ करोड रुपियाँले बचतमा रहेको तथ्याङ्क छ ।

विपे्रषण पनि निरन्तर बढेर मासिक औसत एक खर्ब १९ अर्ब रुपियाँ पुगेको छ । कात्तिकसम्म २६.४ प्रतिशतले विपे्रषण बढेर चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको कात्तिकसम्म विपे्रषण आप्रवाह २० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा पर्यटकबाट हुने आम्दानी ६५ प्रतिशतले बढेर ६१ अर्ब ९२ करोड रुपियाँ पुगेको छ । सोही अवधिमा भ्रमण व्यय भने ३७ अर्ब ५४ करोड रुपियाँ पुगेको छ ।विदेशी विनिमय सञ्चितिमा उच्च सुधार देखिएको छ । असारसम्म १५ खर्ब ३९ अर्ब रुपियाँ सञ्चिति रहेकामा कात्तिकसम्म १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ ।अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ७५ करोड डलर पुगेको छ । यस्तो सञ्चितिले १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैङ्कले जनाएको छ ।

२९ मंसिर २०८०, शुक्रबार ०७:१७ मा प्रकाशित
Nabintech