१२ श्रावण २०८१, शनिबार

‘सूचना महामार्ग’को निर्माण तीव्र, बन्दै छन् आधुनिक १० शहर

फाेर्स दैनिक

मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण शुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा भइरहेको छ।बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले यो राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ ।

यसका साथै १० आधुनिक शहर पनि यही राजमार्गकै सेरोफेरोमा स्थापना हुँदै छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा शुरु भएको यो राजमार्ग हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो।

पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९ किलोमिटर लम्बाइको निर्माणाधीन यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ७२.९६ प्रतिशत र वित्तीय प्रगति ७८.२४ प्रतिशत पुगेको उक्त राजमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए।

‘राजमार्गको कुल लम्बाइमध्ये आयोजनाबाट ९४८ किलोमिटर, अन्य सडक निकायबाट ४६२ किलोमिटर गरी एक हजार ४१० किलोमिटर सडक कालोपत्रे भइसकेको छँ, उनले भने, ‘अहिले ३५३ किलोमिटर सडक निर्माणाधीन छ।’ उनका अनुसार यो राजमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०२ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल निर्माणाधीन छन्।

त्यसै गरी अहिलेसम्म ११६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ।आयोजना प्रमुख नेपालीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा अहिलेसम्म ७।५ किलोमिटर सडक कालोपत्रे भएको र एक अर्ब २१ करोड रुपैयाँ खर्च भइसकेको छ। यो आयोजनाले चालु आव २०८०/८१ मा एक सय किलोमिटर सडक कालोपत्रे गर्ने, १८ वटा पुल निर्माण गर्ने र तीन अर्ब ८६ करोड ९२ लाख रुपियाँ खर्च गर्ने लक्ष्य लिएको छ।

११ पुष २०८०, बुधबार ०८:०१ मा प्रकाशित
Nabintech