१२ श्रावण २०८१, शनिबार

नेबिसंघमा दुजाङ शेर्पालाई चुनौती दिदै संस्थापन इतर समुहको १४ बुँदै निर्णय

फाेर्स दैनिक

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमितिमा रहेका संस्थापन इतर समूहका सदस्यहरूले अध्यक्ष दुजाङ शेर्पाले गरेको निर्णयलाई चुनौती दिँदै १४ बुँदै निर्णय गरेको छ । संघको विधान विपरीत अध्यक्ष शेर्पाले देशभरका विभिन्न जिल्लामा अध्यक्षको जिम्मेवारी दिइएको र क्याम्पसमा इकाई अध्यक्षको जिम्मेवारी दिइएको ब्यहोरामा पत्र पठाएको भन्दै उनीहरूले उक्त निर्णय सबै खारेज गरिएको बताएका हुन् ।

संघको वर्तमान नेतृत्वको गैरजिम्मेवारी र अकर्मण्यताका कारण गौरवमय इतिहास बोकेको एवं लाखौँ विद्यार्थीले भरोसा गरेको संगठनलाई तदर्थवादबाट चलाइनु र संगठनलाई विधिविधान विपरीत मनोमानी ढङ्गले व्यक्तिगत स्वार्थमा लागि सिङ्गो संगठनलाई बन्धक बनाइनु संघमा आबद्ध देशभरिका सदस्यहरूको भावनामाथिको ठाडो प्रहार मात्र नभई नेपालको सिङ्गो विद्यार्थी आन्दोलनको इतिहासमाथिको कुठाराघात भएको उनीहरूको ठहर छ । नेतृत्वको गतिविधिले संघको विधिविधानलाई तिलाञ्जलि दिने, सिङ्गो संगठनको गरिमालाई धमिल्याउने र संगठनको अस्तित्व कोमामा पुग्ने परिस्थिति निर्माण भइरहेको प्रति उनीहरूको गम्भीर चिन्तासहित ध्यानाकर्षण व्यक्त गरेका छन् ।

देशभरका जिल्ला, विश्वविद्यालय र आङ्गिक क्याम्पसहरूमा तत्काल संगठन भित्रको आन्तरिक सहमतिका आधारमा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि पठाएर विधिवत् क्याम्पस, विश्वविद्यालय र जिल्ला अधिवेशनको वातावरण बनाउन अध्यक्षको ध्यानाकर्षण गराउने र विधिवत् अधिवेशनका लागि निरन्तर दबाब दिने निर्णय गरिएको छ ।

तत्काल संगठनको गरिमा बचाउने र विधानसम्मत संघलाई सञ्चालन गर्नतर्फ जिम्मेवार बन्न चेतावनी सहित १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक कामहरू आन्तरिक सहमतिमा तत्काल सुचारु गर्न ध्यानाकर्षण गराउने उनीहरूले बताएका छन् । यसका लागि संघको विधानले निर्दिष्ट गरे बमोजिम कार्यसम्पादन समिति र विभागहरू तत्काल गठन गर्नुपर्ने, विधान मस्यौदा समिति, अनुशासन समिति, महाधिवेशन तयारी समिति लगायतका आवश्यक समितिहरू तत्काल बनाइनुपर्ने साथै देशैभरका जिल्ला र क्याम्पसहरूमा संघको सदस्यता वितरण अभियान तुरुन्त सुचारु गर्नुपर्ने लगायतका उनीहरूको माग छ ।

 

११ पुष २०८०, बुधबार १९:२१ मा प्रकाशित
Nabintech