२९ असार २०८१, शुक्रबार

संस्कृति, तिज पर्व र महिला

कल्पना धमला

हिन्दु धर्ममा महिलालाई देवीका रूपमा नवदुर्गा भगवती, लक्ष्मी, सरस्वती मानेर निकै महत्त्वसाथ पुज्ने प्रचलन छ । अर्कोतिर यही हिन्दु धर्मले महिलालाई पितृसत्ताको नियन्त्रणमा चरणको दासी बनाउने संस्कार र संस्कृति उत्तिकै जबर्जस्त लादिएको छ । यही अन्तरविरोधबिचको पौराणिककालमा ‘हिमालय प्लट’ मा बुनिएको एक कथा हो– हरितालिका तिज पर्व र कथाका पात्र हुन्– शिव र पार्वती । हिमालय पर्वतकी पुत्री पार्वतीको विवाह उनका पिताले भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । पार्वतीलाई भने शिव मन परेको थियो । प्रेममा समर्पित थिइन् । उनले आफ्नो इच्छा र समर्पणको कुरा आफ्नो पितालाई भन्न सक्ने कुरा भएन । आफ्नो समर्पण त्याग्ने पनि इच्छा छैन । पार्वतीलाई ठूलो सङ्कट प¥यो । यो सङ्कटमोचन गरेर आफ्नो इच्छा पूर्ण गर्ने उपायको खोजीमा साथीसङ्गीसँग सुझाव लिइन् र सहयोग मागिन् । साथीसङ्गीले पार्वतीलाई आफ्नो पिता र समाजबाट हरण गरेर जङ्गलमा लैजाने र शिवसँग पार्वतीको विवाह गरिदिने निष्कर्ष निकाले । भाद्र कृष्णपक्षको तृतीयाको दिन पार्वतीलाई हरण गरेर साथीसङ्गीले जङ्गल पु¥याए । त्यस दिन पार्वतीले शिव पति पाऊँ भनी निराहार व्रत बसिन् । शिवसँग जङ्गलमा भेट भयो र त्यसै दिन पार्वतीका साथीसङ्गीले शिव र पार्वतीबिच विवाह गराइदिए । गाए, नाचे र खुसियाली मनाए । यही प्रसङ्ग हो– हरितालिका (तिज पर्व) ।

तिजलाई पर्वका रूपमा किन मनाइँदै आएको छ र मनाइन्छ भन्ने प्रश्नसँग नेपाली हिन्दु महिलाको भावना, वेदना, धर्म र संस्कार मात्र नभएर अधिकार, स्वतन्त्रता, प्रेम र समर्पण, साहस र विद्रोहको गाथासमेत यसले बोकेको पौराणिक इतिहास कम महत्वपूर्ण छैन ।

हिन्दु परम्परा र तिज पर्व

हिन्दु धर्म र संस्कारमा महिलालाई देवीका रूपमा पुज्ने प्रचलन छ । एकातिर देवीका रूपमा पुज्ने र अर्कोतिर पुरुषको नियन्त्रणबाहिर जान नदिने गरी धार्मिक र सांस्कृतिक कानुनको घण्टी महिलाको दिलदिमागमा झुन्ड्याइदियो । सानो हुँदा बाबुको अधिनमा, विवाहपछि पतिको अधिनमा र वृद्ध भएपछि छोराको नियन्त्रणमा रहनुपर्ने गरी पुरोहितले व्याख्या गरिदिए । पौराणिक कथन अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसी तपस्या गरेका कारणले महादेवलाई पतिका रूपमा पाएकी हुन् भन्ने धार्मिक व्याख्याका आधारमा भाद्र शुक्ल तृतीयाको दिन महिलालाई निराहार व्रत बसी शिवको पूजा आरधाना गरेमा अविवाहितले आफूले चाहेजस्तै पति पाउने र विवाहितले पतिको दीर्घायुको कामना गर्नका लागि व्रत गर्ने चलन चलाइयो । अघिल्लो रात अर्थात् द्वितीयाका दिन राति मिठा मिठा खानेकुरा खाने (त्यसलाई दर भनिन्छ), तृतीयाको दिन निराहार व्रत गर्ने, चौथीको दिन स्नान गरी शिवको पूजा गरेर पतिको खुट्टाको पानी खाएपछि खाना खाने प्रचलन छ । तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन व्रतालु महिलाले ३६५ वटा दत्तिवनले दाँत माझेर विभिन्नप्रकारको माटोका लेपन गरी स्नान गर्छन् । पारिवारिक सुख, शान्ति, आरोग्यता, धनधान्य, असल सन्तान प्राप्तिका लागि तथा महिनावारी हुँदाको समयमा परिवारमा जानेर वा नजानेर हुन पुगेको त्रुटि र गरिएका पाप कर्म निवारणका लागि सप्तऋषिको पूजा लगाएर तिज पर्वको अन्त्य गरिन्छ ।

पार्वतीको व्रतका कारण उनको इच्छा पूरा भएको हो ? कथामा आधारित सत्यले पुष्टि गर्दैन । सत्य त साथीसङ्गीले पार्वतीलाई हरण गरेर शिवसँग भेटाई विवाहबन्धनमा बाँधिदिएको कुरा नै देखिन्छ । तर हिन्दु पुरोहितले पार्वतीले गरेकी व्रतका कारण उनको इच्छा पूरा भएको हो, त्यसैले सबै महिलाले आफ्नो इच्छा पूरा गर्न व्रत बस्नु पर्छ भन्ने धार्मिक मान्यता बनाइदिए । हिन्दु पुरोहितलाई पार्वतीले हिन्दु परम्परा, पितृसत्ता र समाजसँग विद्रोह गरेर आफ्नो निर्णयमा पुगेको कुरा मन परिरहेको थिएन । महिलालाई अलौकिक, अदृश्य र काल्पनिक अन्धविश्वासभित्र लैस गराइदिनेसँगै परनिर्भर, परजीवी वस्तु हुन् भन्ने थप साबित गर्न पितृसत्तालाई शक्तिशाली बनाइराख्न धर्म संस्कारलाई कानुनको स्थानमा व्याख्या गरिदिए । परम्परा र धर्मलाई उल्लङ्घन गरे दुःख कष्ट झेल्नुपर्नेछ भन्ने डर र त्रासभित्र कैद गरिएको पाइन्छ ।

तिज पर्व विगत र वर्तमान

हिन्दु परम्परामा महिलालाई धर्म संस्कार र संस्कृतिले दिएको छुटबाहेक घरपरिवार र समाजको चौघेराबाट बाहिर निस्केर बोल्ने स्वतन्त्रता थिएन । बोल्यो भने पोथी बासेको शुभ हुँदैन भन्ने समाज थियो । बालविवाह गरेर अर्काको घर गएकी छोरी वर्षभरि माइत आउन पाउँदैनथे । मिठो मसिनो खाने राम्रो लगाउने रहरै हुन्थ्यो । त्यसमाथि सासूससुरा, नन्द, आमाजु, देवर, जेठाजु र श्रीमान्को समेत उत्पीडनबाट ग्रसित हुनुपथ्र्याे । आफ्ना सबै इच्छा र रहर मारेर बच्चा जन्माउने मेसिन र अर्धदासीको अपमानजनक जीवन जिउनुपर्ने कहालीलाग्दो युग थियो । मिठो खान, राम्रो लाउन माइतै जानुपर्ने परिस्थिति थियो । अर्काको घरमा बर्खाभरि खेतीपातीको कामले थाकेको शरीरले आराम खोजिरहेको बेला घोचपेच, दुःख, कष्ट, अपमान र अन्यायले भावनामा चोट पुगेको मन लिएर माइतमा बाबाआमा, दाजुभाइ, दिदीबहिनी, साथीसङ्गीसँग सुखदुःख बाँड्ने, राम्रो लगाउने, मिठो खाने, गीत सङ्गीतका माध्यमबाट वर्षभरि घटेका घटनाक्रमलाई व्यक्त गर्ने, रमाउने र एक दिन भए पनि स्वतन्त्रताको सुखानुभूति गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँदै आइरहेका थिए । समय र परिस्थिति बदलिएसँगै बिस्तारै महिला घरबाट बाहिर निस्किएर बजारमा काम गर्नेदेखि लिएर सरकारी सेवामा आउन थाले । तिज मनाउने तरिकामा पनि परिवर्तन आयो र राजनीतिक जागरण, राज्यले गरेको विभेद, समाजको अन्याय र अत्याचारविरुद्धको आवाज बुलन्द गर्दै महिलालाई सचेत बनाउने र सङ्गठित गर्ने काममा राजनीतिक पार्टीका महिला सङ्गठनमा क्रियाशील भएर पनि तिज पर्व मनाउने गरेका छन् ।

न्याय र स्वतन्त्रताका लागि गरिएका सङ्घर्षका कारण पढ्ने, लेख्ने, बोल्ने स्वतन्त्रता मात्रै होइन, आफ्नो निर्णय आफैँ गर्ने, समाज र समुदायको अग्रणी नेतृत्व गर्ने तहसम्म पुगिसकेका छन् । राज्यको हरेक ठाउँमा समानुपातिक, समावेशी सहभागिता छ । ३३ प्रतिशत सहभागिता संविधानमै व्यवस्था छ । यो व्यवस्थाका कारण आज महिलाको नेतृत्व क्षमताको तीव्र रूपमा विकास भइरहेको छ । यो परिवेशमा तिजलाई हिजोकै धर्म र संस्कृतिको आँखाबाट हेरेर बुझ्ने र मनाउने, स्वतन्त्रताको नाममा महिनौँसम्म तडकभडक, खर्चिलो कार्यक्रमका साथै अश्लील र असान्दर्भिक दोहोरी गीत प्रचार प्रसार गर्ने र रमाउने, महँगा गहना, कपडा प्रदर्शन गर्ने भड्किलो संस्कृतिलाई बढावा दिनुले पौराणिककालदेखि नै हिन्दु समाज र महिला स्वतन्त्रताको प्रतीकका रूपमा मनाउने गरिएको तिज पर्वको ऐतिहासिक मूल्यमान्यतालाई बुझ्ने र ग्रहण गर्ने तरिकामा विविधता देखिएको छ ।

निष्कर्ष

तिज (हरितालिका) पर्वलाई हेर्ने र बुझ्ने दृष्टिकोण एकातिर छ भने यस पर्वले दिन खोजेको सन्देश अर्कोतिर छ । अहिलेसम्म आउँदा ठुलो हिस्साले धार्मिक परम्पराका रूपमा हेर्छन् । तिज पर्वसँग एउटी नारीको पवित्र प्रेम र समर्पण जोडिएको छ । मुख्य त धार्मिक पर्वकै रूपमा स्थापित छ । सामाजिक सांस्कृतिक कोणबाट हेर्दा आमाबाबा टाढा रहेका छोरीचेली माइत जाने, राम्रो लगाउने, मिठो मसिनो खाने, सुखदुःखका भावना साटासाट गर्दै सामिप्यता जोड्ने सुखानुभूति गर्ने तिज पर्वको सबैभन्दा सुन्दर र भावनात्मक पक्ष हो । राजनीतिक आँखाले हेर्दा पितृसत्तात्मक सामन्ती समाजविरुद्ध एउटी अबला नारीले गरेको विद्रोहको गाथा यस पर्वले बोकेको छ । यो पर्व मनाउनुको अर्थ व्रत, पाठपूजा र रमाइलो मात्रै हो भन्ने बुझियो र महिलामाथि शोषण कायमै राख्ने धार्मिक कानुनलाई जीवितै राखिराख्ने हो भने पार्वतीले दिन खोजेकी सन्देश र पितृसत्तासँग गरेकी विद्रोह पौराणिक सत्य कथाका आधारमा परिवार र साथीसङ्गीसँगको सामिप्यता साटासाट गर्ने, महिला उत्पीडनविरुद्ध सचेतना जगाउने, समाज रूपान्तरणमा अग्रणी भूमिका खेल्दै सामाजिक न्यायका आधारमा समानता स्थापित गर्ने स्मृति दिवसका रूपमा बुझ्न र मनाउन सार्थक र सान्दर्भिक हुनेछ । अझैसम्म पनि कतिपय समाजमा दाइजो प्रथा, छाउपडी प्रथा, निःसर्त अंश र वंश प्राप्ति हुन सकेको छैन । हामी समानताको हक प्राप्तिको सङ्घर्षमा निरन्तर लागिरहेका छौँ, लागिरहने छौँ ।

१ आश्विन २०८०, सोमबार २१:०० मा प्रकाशित
Nabintech