२४ बैशाख २०८१, सोमबार

प्रजातान्त्रिक समाजवादको औचित्य

लाेकराज अवस्थी

बिपी कोइराला आधुनिक नेपाली समाजका महान् राजनेता हुन् । १८ औँ शताब्दीका प्रजातान्त्रिक समाजवादका एक विचारकसमेत हुन् । बिपीलाई नेपाली समाजसँग जोडेर हेर्यो भने उनलाई जान्न र बुझ्न सजिलो हुन्छ । हालको नेपाली समाज उनकै सिद्धान्त तथा विचारको वरिपरि घुमिरहेको छ । उनकै अगुवाइमा प्रजातन्त्रको जग बसाल्ने थालनी भएको थियो । उनले बन्द समाजलाई खुलातर्फ, निरङ्कुश शासनलाई उदार प्रजातन्त्रतिर र रैतीलाई सम्मानित नागरिक बनाउने महान् कार्यको नेतृत्व गरेका थिए ।

युगौँयुगसम्म बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्यता पुष्टि भइरहने छ । नेपाली समाजलाई उन्नति पथमा डोर्याइरहने छ । त्यस कारण बिपी कोइराला नेपाली समाजमा युगीन राजनेताको रूपमा अनुसरणयोग्य छन् ।

प्रजातान्त्रिक समाजवाद भनेको राजनीतिक तथा आर्थिक समानता हो र समाजको सम्पन्नता हो । सबैतिर प्रजातान्त्रिक हुनु हो । सबैको पहुँचयोग्य व्यवस्था हो, बुलेट नभएर ब्यालेटको शासनपद्धति हो । जनताको सर्वोच्चता र सर्वोपरिता नै हो । जसले समाजका सदस्यको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । बिपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनु पर्छ भन्ने नै हो । यसरी बिपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडेर व्याख्या गरेका छन् । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिँदैन । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपीको समाजवाद नेपाली समाजमा चाँडो स्थापित भएको हो ।

आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिबाट निर्माण हुनु पर्छ । समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ । सरकार आफूले बनाएको विधि विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नति बिपीको समावादका मुख्य आधार हुन् । उनले राजनीतिक स्वन्त्रताबिनाको समाजवाद र आर्थिक उन्नतिबिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन, त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतिलाई एक ठाउँमा राखेर व्याख्या गरेका छन् ।

बिपीले प्रजातन्त्रको व्याख्या सरल तरिकाले गरेका छन् । उनले भनेका छन्, “जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनु पर्छ । जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न नागरिक संवाद पनि जोडिएर आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनु पर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो पनि सँगै आउँछ । तब मात्र सही व्यक्ति चुनिन सक्छ ।’’ यसरी बिपीको समाजवाद सैद्धान्तिक रूपमा पनि स्पष्ट छ । बिपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो सङ्घर्षपछि व्यवहारमा पनि लागु गरेर देखाएका छन् । बिपी नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।

अधिकार गरिबलाई, शिक्षित, अशिक्षित सबैलाई चाहिने कुरा उनले उठाए । व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सबै अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नु पर्छ भन्ने बिपीको अटल मान्यता रहेको थियो । बिपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन । सबै समान हुन्छन् । कोही बढी, कोही कम भन्ने पनि हुँदैन । उनले प्रजातन्त्रका आधरभूत सिद्धान्तलाई आत्मसात् गरी व्याख्या गरेका छन् । बिपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । “मानी लिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दुधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गणितको न्यायले सबैलाई एक–एक चम्चा दुध दिन सकिएला तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।” उनले यसलाई उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन । दुधको उत्पादनको वृद्धि गर्नतर्फ लाग्नु पर्छ । पर्याप्त मात्रामा दुधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ भनेका छन् । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ । स्रोतसाधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो सङ्घीयतामा जाँदा सामान स्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो ।

समयको हिसाबले बिपीको प्रजातान्त्रिक समाजवाद केही पुरानो मानिए पनि अहिले राजनीतिक रूपमा नेपाली माटोको प्रतिविम्ब हो । पश्चिमेली राष्ट्रले दशकाैँ वर्षपहिले प्रतिपादन गरेको सिद्धान्त लागु गरिनु पर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको स्रोत बनेको छ । तत्कालीन नेकपा (एमाले)मा जनताको बहुदलीय जनवाद पनि यसकै वरिपरि घुमेको पाइन्छ । तथापि बिपीको समाजवाद र अरूका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाँज्न या तुलना गर्न सकिँदैन ।

बिपीको समाजवादले युगको परिवर्तन गर्यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डोर्यायो । रैतीबाट नागरिक बनायो । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रवेश गर्यो । यस कारण बिपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो । अब कुरा गरौँ, बिपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बिपी मार्गमा हिँड्यो कि हिँडेन ? बिपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्यो कि गरेन ? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्यो ? यी अहम् प्रश्न हुन् ।

नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको उदार प्रजातान्त्रिक समाजवाद हो । पार्टीको विचार, कार्यनीति, योजना तथा कार्यव्रmम सबै यसैमा आधारित छन् । फरक तरिकाले बुझ्दा त्यो बिपीवाद हो । कांग्रेसको वैचारिक जग भनेको प्रजातान्त्रिक समाजवाद हो । पार्टीको स्थापनाका कालदेखि बिपीको विचारले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा ग¥यो । बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यव्रmम ल्याउन सकेन । कांग्रेसको शासनकालमा मध्यम तथा ठुला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पुँजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । राज्यभन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकारभन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । जसले आर्थिक असमानता पैदा गरिदियो । गरिब झन् परनिर्भर हुँदै गए । जसले धनी र गरिबबिचको खाडल नपुरिने गरी बढाइ दियो ।

पुँजीवादको नाममा पश्चिमा मोडेलसँगै नवउदारवादलाई लागु गर्ने प्रयास गर्यो । जसले वैचारिक रूपमा विचलित तुल्यायो । किनारा पारिएका जनता या गरिबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउन छोड्यो । नेता तथा कार्यकर्ता बिस्तारै सहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो ।

बिपीले भने जस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरू पुगेपछि पार्टीका इमानदार कार्यकर्ताले तिनका विरुद्ध आन्दोलन गर्नु पर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन । पार्टीभन्दा पनि व्यक्ति बलियो हुँदै गए । लोकतन्त्र सत्तामा जाने सिँढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझाङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन ।

समय अनुसार कांग्रेसले बिपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गर्नुको अर्को विकल्प छैन । अब कांग्रेसलाई सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनु पर्छ । सम्पन्न तथा सहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनु पर्छ ।

१ आश्विन २०८०, सोमबार २१:०३ मा प्रकाशित
Nabintech