१२ श्रावण २०८१, शनिबार

हामीलाई सत्ता गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

फाेर्स दैनिक

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउनुभयो । उहाँले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गर्नुभयो । उहाँले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो ।

गठबन्धन बनाउने काममा भूमिका आफूहरूले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताउनुभयो । अनुचित कुराका विरुद्धमा सङ्घर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज गठबन्धनलाई धारेहात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । विगतमा पनि हामीले भूमिका खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ । हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ ।’’

 

१ आश्विन २०८०, सोमबार २१:१२ मा प्रकाशित
Nabintech