१२ श्रावण २०८१, शनिबार

मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने तयारी

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँग छलफल गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रूपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए ।

फाेर्स दैनिक

बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएको हो ।सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो । २०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना र चुनौतीलाई मध्यनजर गर्दै समुदायको ज्ञान, सीप र प्रविधिलाई शिक्षासँग जोड्न, शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई मर्यादित, गुणस्तरीय र व्यावहारिक बनाउन विश्वविद्यालय स्थापनाको व्यवस्था गरिएको छ ।

प्रदेशको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुर्‍याउने उद्देश्यले उच्च शिक्षाको संस्थागत विकास गर्दै वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने प्रदेश सरकारको योजना रहेको छ । भाषा र संस्कृतिको विकास, स्तरयुक्त उच्च शिक्षाको सर्वसुलभ उपलब्धता, दक्ष जनशक्तिको आपूर्ति सुनिश्चितलगायतका लक्ष्य सरकारले लिएको छ ।

सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँग छलफल गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रूपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए ।

ऐन कार्यान्वयन गर्दै सो क्याम्पसलाई विश्वविद्यालयका रूपमा स्थापित गरी इतिहास निर्माण गर्नुपर्ने बताए । क्याम्पसलाई विश्वविद्यालयको रूपमा विकास गर्न आगामी असोज २ गते बस्ने प्रदेश उच्च शिक्षा परिषद्को बैठकबाट निर्णय गरेर अघि बढ्ने उनको भनाइ छ ।

मकवानपुर क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने अभियानको थालनी भएको र थुप्रै तयारीको काम गर्न बाँकी रहेको उनले बताए । स्थापनाछि अन्य कामलाई अघि बढाएर ऐनअनुसार मानित विश्वविद्यालय, आङ्गिक क्याम्पस, प्रतिष्ठानलगायत स्थापन गर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ ।

प्रदेशको भक्तपुर, काभ्रे, चितवन धादिङलगायतका जिल्लामा विश्वविद्यालय स्थापनाको अध्ययन गरिए पनि मकवानपुर नै उपयुक्त देखिएपछि मकवानपुर बहुमुखी क्याम्पस छनोट गरिएको उनले बताए । प्रदेश सरकारको बजेट भौतिक संरचनामा खर्च नगर्ने र बनेकै संरचनाबाट काम सुरु गर्ने तयारीअनुसार सो क्याम्पस छनोट गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । उक्त क्याम्पसमा स्थापना हुने विश्वविद्यालयमा प्राविधिक विषयहरूको अध्यापन गराइने उनले बताए । सुरुवाती चरणमा सो विश्वविद्यालयले कृषि, स्वास्थ्य तथा अन्य प्राविधिक विषयहरू अध्यापन गराइने उनको भनाइ छ ।

 

२ आश्विन २०८०, मंगलवार १४:०९ मा प्रकाशित
Nabintech