१२ जेष्ठ २०८१, शनिबार

‘हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ’

फाेर्स दैनिक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाली हस्तकला वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेशसम्म उपहारका रूपमा पु¥याउन सके नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरी विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनुभएको हो ।

हस्तकला उद्योग व्यवसायलाई नेपाल सरकारको तर्फबाट पनि प्राथमिकतामा राखी यसको हित र संरक्षणमा नीतिगत सहजताका कार्यहरू समय समयमा गर्दै आएको उहाँको भनाइ छ । व्यापार र अर्थ व्यापकताको प्रचुर सम्भावना बोकेको यस क्षेत्र र यसको निर्यात व्यापार विगत केही वर्षदेखि स्थिर देखिएको अवस्थामा निजी सङ्घ–संस्थाहरूले पनि हस्तकलाको निर्यात वढाउन र नयाँ बजार खोज गर्न पहल गनुपर्नेमा सचिव मरासिनीले जोड दिनुभयो ।

समयसापेक्ष र आवश्यकता अनुसार व्यापार नीतिहरूमा सुधार गर्दै लानका लागि मन्त्रालयले अधिकतम सहयोग गर्ने बताउनुहुँदै के–कस्तो सहकार्य गर्दै जान सकिन्छ त्यस्ता प्रस्तावप्रति अत्यन्तै सकारात्मक रहने छ सचिव मरासनीले भन्नुभयो । दिगो बजारको खोज र आफ्नो उत्पादकत्वको क्षमतामा पनि सुधार गर्दै लाने हो भने यस हस्तकला उद्योग व्यवसायले आर्थिक प्रगतिको बाटो पहिल्याउन सक्ने उहाँको भनाइ छ ।

“हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ । यसमा परिवार, कृषक र महिलासँग जोडिएको छ । गाउँ, समुदायमा नै गर्न सम्भव भएकाले यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा रहेको छ,” सचिव मरासिनीले भन्नुभयो ।

सो अवसरमा व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सिर्जना गर्नका लागि माथि उकास्न आवश्यक पर्ने सहुलियत र सुविधा दिनुपर्ने बताउनुभयो ।

“हस्तकला क्षेत्रमा विकासका लागि कसले के गर्ने हो भन्ने खालका नीति तथा रणनीतिहरू तय गरिनुपर्छ, समस्याहरू धेरै छन्, विद्यमान समस्या र समाधानका उपायहरूका विषयमा हस्तकला महासङ्घले सुरु गरेको काम महत्वपूर्ण छ, आन्तरिक र बाह्य समस्याहरू के के हुन् भनेर पहिचान गर्नुपर्ने र उद्यमी र व्यापारीहरू छुट्याएर समस्या समाधान गर्न लाग्नुपर्ने अवस्था छ,” निर्देशक राणाले भन्नुभयो । उनले हस्तकला वस्तुको निकासीका लागि पारवहन र ढुवानीका समस्या समाधान गर्नाका साथै बजारहरूको खोजी गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल बैङ्क लिमिटेड कर्जा विभागका वरिष्ठ प्रबन्धक कृष्णबहादुर कार्कीले निकासीसँग सम्बन्धित व्यवसायलाई नेपाल बैङ्कले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको बताउनुभयो ।

व्यवसायीको व्यापारिक सोचलाई उद्योगमा लैजानका लागि स्टार्ट अप बिजनेसदेखि नै सहयोग गर्ने उहाँले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू’ विषयक कार्यपत्र प्रस्तुति गर्दै हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाको सहभागिता धेरै रहेको बताउनुभयो ।

निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्दै ८० मुलुकमा नेपालको हस्तकलाका वस्तुहरू निकासी हुने गरेको बताउनुभयो । हस्तकला उद्योगको विकास, संरक्षण र प्रवर्धन गर्ने छुट्टै निकायको अभाव रहेको पूर्वउपसचिव थापाले प्रस्ट्याउनुभयो ।

नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्दै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गर्नुभयो ।

महासङ्घको वाणिज्य परिषद्का सभापति तथा महासङ्घका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले हाल नेपाल सरकारबाट हस्तकला उद्योग व्यवसायलाई साना, घरेलु तथा लघु उद्योगमा राखेर विभिन्न नीति नियमहरू तर्जुमा गरेकोमा हस्तकला उद्योग व्यवसायलाई छुट्टै उद्योगका रूपमा पहिचान नगरेसम्म यस क्षेत्रको समुचित विकास नहुने धारणा व्यक्त गर्नुभयो ।

हस्तकला एक विशेष प्रकृतिको उद्योग भएकाले यसलाई अलग्गै नीति नियमको आवश्यकता रहेको र यस कार्यक्रमबाट आएको विभिन्न सुझावहरूलाई एकीकृत गरी एक दस्तावेज बनाई मन्त्रालयमा बुझाइ सोबमोजिम नीति नियमहरू कार्यान्वयन गराउने सहज हुने बताउनुभयो ।

४ आश्विन २०८०, बिहीबार ०७:१३ मा प्रकाशित
Nabintech