१२ श्रावण २०८१, शनिबार

गोदावरी नगरपालिकाको पशु शाखाले रेबिज बिरुद्ध अभियान थाल्यो

फाेर्स दैनिक

गोदावरी नगरपालिकाको पशु शाखाले रेबिज बिरुद्धको साताव्यापी निःशुल्क खोप अभियानको थालनी गरेको छ । बिश्व रेबिज दिवस २०८० सेप्टेम्बर २८ को उपलक्षमा यो अभियान थालिएको गोदावरी नगरपालिका पशु शाखाका प्रमुख ईश्वर प्रसाद घिमिरेले जानकारी दिए । ‘रेबिज नियन्त्रण एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यस बर्ष बिश्व रेबिज दिवस मनाइदै छ ।

गोदावरी नगरपालिका पशु शाखाले घर पालुवा तथा सामुदायिक कुकुर बिरालोमा निःशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रम यहि असोज ४ गतेबाट सुरु गरेको छ । प्रत्येक दिन २ वटा वडा कार्यालयमा खोप अभियान सञ्चालन हुनेछ । ७ दिने अभियान सकिएपछि पनि गोदावरी नगरपालिका पशु शाखा र पशु सेवा केन्द्रबाट सदैव निःशुल्क खोप सेवा उपलब्ध हुनेछ ।

खोप अभियान गोदावरी नगरपालिका वडा नं. १ गोदामचौ र वडा नं. २ बिशंखुबाट अभियानको सुरु गरिएको शाखा प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार ‘अभियानको साथमा कुकुर बिरालोलाई जुका र लुतो बिरुद्धको औषधी पनि दिइने छ ’ ।

वडाअध्यक्ष र जन प्रतिनिधिहरुले यो कार्यक्रममा उत्साहपुर्ण सहभागिता जनाउदै समुदायमा यसको प्रचार समेत गरिरहेका छन । रेबिज प्राणघातक रोग हो । रेबिज लागेपछि उपचार सम्ंभव हुदैन । खोप रेबिज बिरुद्ध पुर्व सावधानी हो । यो रोग जंगली जनावरबाट कुकुर, बिरोलो हुदै मानिसमा सर्छ । विश्वव्यापी रूपमा रेबिजबाट प्रतिवर्ष ६० हजार व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । रेबिज लागेपछि मृत्यु हुने निश्चित छ ।

रेबिज रोगको मुख्य कारण

रेबिज Rhabdo नामको भाइरसद्वारा हुन्छ । यो विषाणु मुख्य गरी रोगी पशु जस्तै कुकुर, बिरालो, बाँदर जस्ता मांसहारी पशुको र्यालमा पाइन्छ । कतिपय अवस्थामा स्वस्थ पशुमा पनि हुन्छ ।

कुकुरले टोक्नाले, स्याल, ब्वाँसो, बाँदर, चितुवा आदिले टोक्ने, चिथोर्नाल, मुसा, लोखर्केबाट पनि यो रोग फैलिन्छ । किनकि रेबिजको विषाणु प्राकृतिकरूपले यिनको शरीरमा पाइन्छ । यदि जङ्गली जनावरले यिनको शिकार गरेर खाए भने यो रोग तिनमा फैलिन्छ । यस रोगबाट ग्रस्त गाई, भैँसी आदिको मुखमा हात हाल्दा पनि यो रोग फैलिन्छ ।

मानिसमा रोगका लक्षण

टाउको दुख्ने, जिउ दुख्ने, कडा ज्वरो, पानीदेखि तर्सिने, आँखा चिलाउने, झम्म हुने, घाँटी खसखस भई चिलाउने, सुन्निने, ¥याल चुहिने, खान पिउन अप्ठ्यारो हुने, अवाज बदलिने, तेज, उज्यालो तेज, आवाजसँग डराउने, चिडचिडापन हुने, अन्तिम अवस्थामा पक्षघात हुने वा बेहोस हुने । यस रोगबाट ग्रसित व्यक्तिवा पशुको ५ देखि १० दिनभित्रमा मृत्यु हुनसक्छ ।

उपचार एवं रोकथाम

१. शरीरको जुन अङ्गमा कुकुर आदि जनावरले टोकेको छ, त्यसलाई कम से कम १५ मिनेटसम्म सफा साबुनपानीले धुनुपर्छ ।

२. घाउलाई धोइसकेपछि त्यसमा स्पिरिट, टिन्चर आयोडिन वा बेटाडिन लगाउनुपर्छ ।

३. घाउलाई खुला छाड्ने, त्यसमा बेन्डेज एवं टाँका लगाउनु हुँदैन ।

४. तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

५. कुकुरले टोकेपछि चाँडोभन्दा चाँडो ०–३–७–१४–२८ दिनमा पाँचवटा एन्टिरेबिज खोप लगाउनुपर्छ ।

रेबिजबाट ग्रसित पशुका लक्षण

मुख्यरूपले पशु अथवा कुकुरहरूमा यस रोगको दुई अवस्था हुन्छन् । पहिलो अवस्थामा लक्षण तीव्र हुन्छन् । कुकुर धेरै उत्तेजित रहन्छ । अचानक टोक्न थाल्छ । काल्पनिक कुरासँग भुक्छ र विस्तारै पक्षघात हुन्छ ।

दोस्रो अवस्थामा कुकुर आश्चर्य रूपमा शान्त रहन्छ । उसले आफ्नो मालिक र अन्य सदस्यलाई चिन्न सक्दैन, भनेको पनि मान्दैन । उसको मुखबाट धेरै मात्रामा र्याल खस्छ । घाँटीको तल्लो भाग सुन्निनाले भुक्न सक्दैन एव खानपिउन गाह्रो हुन्छ ।

आवश्यक जानकारी राख्नुपर्ने कुरा

कुकुर जथाभावी टेक्ने खालको वा भुस्याहा कस्तो थियो र त्यसको स्वस्थ थियो भन्ने पत्ता लगाउनु पर्छ । त्यो कुकुर रोगी, बिरामी वा बिमारीका लक्षण भएको थियो कि थिएन ? टोक्ने कुकुरलाई रेबिजको खोप लगाएको थियो कि थिएन ? खोप लगाएको भए कहिले लगाएको थियो ? यस्ता कुराको खोजी गर्नुपर्छ । टोकेको घाउको अवस्था, स्थान र टेक्ने कुकुर वा जनावरलाई २१ दिनसम्म निगरानीमा राख्नुपर्छ अनि रोकथामका लागि खोप लगाउन सुरु गर्नुपर्र्छ ।

रेबिजबारेमा ध्यान दिनुपर्ने कुरा

रेबिज एउटा विषाणुद्वारा फैलिने रोग हो । यसको रोकथाम खोप लगाएर हुन्छ । मनिसमा रेबिजबाट हुने मृत्युको कारणहरूमा कुकुरको टोकाइ प्रमुख मानिन्छ । रेबिज रोगको रोकथाम गर्न निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

घरमा पालेको कुकुरलाई एन्टी रेबिज खोप नियमित दिनुपर्छ । कुकुरको टोकाइबाट बच्नुपर्छ । एसिया र अफ्रिकामा प्रत्येक वर्ष रेबिजबाट हजारौँ मानिसको मृत्यु हुन्छ । त्यसैले यो रोगलाई नेग्लिकेटेड ट्रपिकल जुनोसिस भनिएको हो । रेबिजबाट मृत्यु हुनेहरूमा ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन् । कुकुरले टोक्नेवित्तिकै घाउलाई सफा पानी तथा साबुनले राम्रोसित धोयो भने यसले ५० प्रतिशतसम्म रोकथाम गर्छ । रेबिज लाग्नबाट जोगिन र रोकथाम गर्न सकिन्छ तर भइसकेपछि उपचार सम्भव छैन । त्यसैले भनिन्छ रेबिजबाट बच्न सकिन्छ, तर बचाउन सकिन्न । एन्टी रेबिज खोप उमेर र समय तालिकाअनुसार लगाइएको छैन भने घरपालुवा कुकुरलाई रेबिज लाग्न सक्छ ।

पालेको कुकुरमा रेबिज रोगको व्यवस्थापन

पाल्तु कुकुरलाई धेरै समय बाहिर एक्लै घुम्न छाडा छोड्नु हुँदैन । बहिरको खाना खान दिनु हुँदैन । बचेको खानेकुरा हटाइदिनुपर्छ । त्यसो गर्दा जङ्गली जनावर तथा भुस्याहा कुकुर झुम्मिन पाउँदैनन् । कुनै जङ्गली जनावर एव भुस्याहा कुकुर टोलमा डुल्दै गरेको देखिएमा सम्बन्धित निकायलाई खबर गर्नुपर्छ । घरको मूल ढोका बनाउँदा पाल्तु कुकुर बाहिर जान नपाउने खालको बनाउनुपर्छ । ससाना केटाकेटीलाई भुस्याहा कुकुर छुनु हुँदैन भन्ने शिक्षा दिइनुपर्छ । पालेको कुकुरलाई रोबिज रोगबाट बचाउन नियमित रूपमा पहिलो खोप ३ महिनाको उमेरमा र प्रत्येक वर्ष एक एक खोप लगाउनुपर्छ ।सावधानी अपनाउनाले रेबिजबाट बच्न सकिन्छ । प्राथमिक उपचारबाट रोगीलाई राहत दिन मात्र हैन बचाउन पनि सकिन्छ ।

 

 

५ आश्विन २०८०, शुक्रबार ०७:२५ मा प्रकाशित
Nabintech