१२ श्रावण २०८१, शनिबार

एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट चीनको हाङचउ सहरमा सुरु हुँदै

फाेर्स दैनिक

एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ ।

सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको हो । चिनियाँ सरकारले त्यही महामारीका कारण लगाइरहेको सबै प्रकारको प्रतिबन्ध भने हटाइसकेको छ ।

प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।

नेपालबाट निमा र वीरबहादुरले अगुवाइ गर्ने

नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् ।उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् । यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । उद्घाटन समारोह दुई घण्टाका हुनेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् ।यसका लागि ४० मिनेट छुट्याइएको छ । त्यसपछि केही औपचारिक कार्यक्रम हुनेछन् र अन्त्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ । नेपाली टिमका सेफ द मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले चीनमा हुन लागेको प्रतियोगितामा असल छिमेकीको नाताले यत्तिको सहभागिता स्वाभाविक र सकारात्मक रहेको बताएका छन् ।

यस्तै नेपाल ओलम्पिक कमिटीमा उपाध्यक्ष र कार्यकारी निर्देशकसँगै नेपाली टिमको डेपुटी सेफ मिसन रहेका चतुरान्दराज वैद्यले प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो रहने विश्वास पोखे । उद्घाटन समारोह अगाडि नै केही खेलका स्पर्धा भने सुरु भइसकेका छन् । त्यसमध्ये नेपालले पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबलमा आफ्नो चुनौती पेस गरिरहेको छ । शुक्रबारसम्म नेपाली टिममा आधाभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी हाङचउ आइपुगेका छन् ।

 

६ आश्विन २०८०, शनिबार ०७:४१ मा प्रकाशित
Nabintech