१२ श्रावण २०८१, शनिबार

किसानलाई अलैँची टिप्न भ्याइनभ्याई

फाेर्स दैनिक

ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।

अलैँची थन्क्याउने मौसम भएकाले अहिले किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसानहरु अलैँची पाक्न थालेपछि गाउँ फर्किएका छन् । हिजोआज गाउँमै रहेका र बाहिरबाट फर्किएका किसानहरु अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।

जिल्लाका अलैँची किसानले भदौ पहिलोदेखि नै टिप्न सुरु गरेका छन् । अलैँची पाक्न थालेपछि थन्क्याउन अर्थात टिप्नलाई ढिलो भएमा चरामुसाले खाएर नोक्सानी गर्ने भएकाले पनि यतिबेला किसानलाई भ्याइनभ्याई भएको हो । पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरेको चरा, मुसा र कालाजस्ता जङ्गली जीवले खाएर सखाब बनाउने गरेको सिदिङ्वा गाउँपालिका –५ की स्थानीय किसान रेनु लिम्बूले बताउनुभयो ।

चरा मुसाले अलैँची खाएर छोटो समयमै धेरै नोक्सान गर्ने हुँदा टिपाइमा ढिलो गर्न नहुने लिम्बूको भनाइ छ । अन्य सबै काम छोडेर अलैँची पाक्ने अहिलेको सिजनमा किसानलाई भ्याइनभ्याई हुनेगरेको उहाँले बताउनुभयो । अलैँची सिजनमा सबैतिर एकै पटक टिप्ने र थन्क्याउने काम गर्नुपर्ने भएकाले काम गर्ने जनशक्ति नै नपाइने हुँदा थप व्यस्त हुनुपरेको पनि किसानको भनाइ छ ।

किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात एक हजार २०० मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौं पहिलो सातादेखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार २०० देखि एक हजार ८०० सम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार ८०० देखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ ।

ताप्लेजुङमा करिव चार हजार ५०० हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदैआएको छ । उक्त खेतीबाट दुई हजार ५०० मेट्रिक टन अलैँची उत्पादन हुनेगरेको तथ्याङ्क रहेको छ । यसवर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

७ आश्विन २०८०, आईतवार ०६:४२ मा प्रकाशित
Nabintech