१२ श्रावण २०८१, शनिबार

कोशी प्रदेश सरकार पुनः गठन, विश्वासको मत पाउने सम्भावना भने कम्जोर

फाेर्स दैनिक

कोशी प्रदेश सरकार पुनः गठन भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार चार जना मन्त्री थप गरेका हुन् ।उनले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री छन् ।

कार्कीले सोमबार नियुक्त गरेका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भएका छन् । लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रीभएका छन् । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए । उनीहरुलाई प्रदेश प्रमुख कार्यालयमा शपथको गराइएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन् । अहिलेसम्म साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गरेका हुन्।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले वर्तमान सरकारलाई साथ नदिने बताइसकेको र राप्रपा पनि सहभागी नभएपछि कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना भने कमजोर छ ।

 

८ आश्विन २०८०, सोमबार १७:०८ मा प्रकाशित
Nabintech