१२ श्रावण २०८१, शनिबार

मलङ्गवामा कर्फ्यू खुकुलो, जनजीवन सामान्य

फाेर्स दैनिक

सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । मङ्गलबार बजारका अधिकांश पसल खुलेका छन् । यातायात सूचारु भएपछि मानिसको आउजाउ बाक्लिएको छ ।कर्फ्यूका कारण चार दिनसम्म घरभित्रै थुनिएका स्थानीय आफ्नो काममा निस्कन थालेका छन् । कर्फ्यू खुकुलो पारिएपछि मङ्गलबारबाट खुलेका सदरमुकाम मलङ्गवाका अधिकांश कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।

जिल्ला प्रशासन, मालपोत, नापी, नेपाल बैङ्क, विद्युत्लगायतका कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । प्रदेश तथा जिल्लाभित्रकै विभिन्न युनिटबाट थप मद्दतमा मलङ्गवा उतारिएको सशस्त्र तथा नेपाल प्रहरीलाई फिर्ता पठाउन थालिएको छ ।

गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति सेलाउन लैजानेक्रममा झडप भएपछि तनावग्रस्त बनेको मलङ्गवामा सोही दिन राति १० बजेदेखि अनिश्चितकालिन कफ्र्यु लागेको थियो । सोमबार दिउँसोको समयमा कर्फ्यू हटाइसकिएको छ ।

राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू आदेश अझै कायम नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिउँसोको कर्फ्यू हटाइएपछि मलङ्गवाको अवस्था मङ्गलबारबाट थप सामान्य बन्दैगएको बताउनुभयो ।

रातिको समयमा कर्फ्यू कायमै रहेको र थप प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । स्थानीय प्रशासनले सामाजिक सञ्जालमा जथाभावी लेखेर सामाजिक तथा धार्मिक सद्भाव बिगार्ने प्रयास भए साइबर अपराधमा मुद्दा दायर गर्ने चेतावनी जारी गरेको छ ।

९ आश्विन २०८०, मंगलवार १८:४६ मा प्रकाशित
Nabintech