१२ श्रावण २०८१, शनिबार

करारका कर्मचारीलाई उमेर हद नलाग्ने व्यवस्था गर्न माग

फाेर्स दैनिक

नेपाल निजामती कर्मचारी संगठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ । लोकसेवा आयोगबाट सीमित प्रतियोगिता गराई स्थायी गर्नका लागि पहल गर्न संगठनले माग गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठनको हालै सम्पन्न बैठकका निर्यणहरु मंगलबार सार्वजनिक गर्दै सो माग अघि सारेको जनाएको छ । संगठनका कोषाध्यक्ष गणेशप्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखापरीक्षण आयोगका अध्यक्ष सिताराम घिमिरेबाट प्रस्तुत लेखापरीक्षण प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

बैठकमा संगठनका १५ वटा केन्द्रीय विभाग, आठ प्रदेश कार्य समिति र ११७ वटा जिल्ला विभागीय कार्य समितिको तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको छ । केन्द्रीय कार्य समितिको वार्षिक कार्ययोजना र समसामयिक विषयमा भक्तपुर घोषणापत्रसमेत जारी गरिएको छ ।

राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझावसहित स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न संगठनले माग गरेको छ । संगठनले अस्थायी, ज्यालादारी, करार सेवामा कार्यरत र अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुलाई सेवा सुरक्षाको कुनै सुनिश्चितता नगरी अपमानजनक तबरले सेवाबाट हटाउने र पुनः करार सेवामा कामकाजमा लगाउने कार्यको विरोध गरेको छ ।

साविकको स्थानीय निकाय, दुर्गम क्षेत्र विकास समिति, घरेलु विकास समिति, जिल्ला विकास समिति लगायतका निकायबाट समायोजन भइ स्थानीय तहमा कार्यरत कर्मचारीहरुको उपदानको सुनिश्चितताका लागि प्रदेशस्तरमा उक्त कोषको व्यवस्थापन गरेर मात्र कर्मचारीहरुको सरुवा गर्ने व्यवस्था गर्नसमेत संगठनले माग गरेको छ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौ राष्ट्रिय भेला आगामी मंसिर १५ र १६ गते सम्पन्न हुने महासचिव जीवन काफ्लेले जानकारी दिनुभयो ।

९ आश्विन २०८०, मंगलवार १८:५४ मा प्रकाशित
Nabintech