१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेश हुने

फाेर्स दैनिक

प्रतिनिधिसभा बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बोलाइएको छ। आधा महिनापछि बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए।

तर आजको बैठक नेकपा एमालेले चल्न नदिने चेतावनी दिएको छ। एमालेका सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएर धोका दिएको भन्दै त्यसको हिसाबकिताब संसदबाटै गरिने चेतावनी दिएका छन्। करिब ६१ किलो सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने भनिए पनि क्षेत्राधिकार विवादले अझै गठन हुन सकेको छैन्।

१४ आश्विन २०८०, आईतवार ०६:४९ मा प्रकाशित
Nabintech