१२ श्रावण २०८१, शनिबार

श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कपको फाइनलमा

फाेर्स दैनिक

श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयाे । भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ५३ रन बनाए । यस्तै केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका २० वर्षीय बलर दुनिथ वेलालेगेले ५ विकेट लिए । वेलालेगेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे पटक ५ विकेट लिएका हुन् । यस्तै चरिथ असलन्काले ४ र महीश थीकशानाले १ विकेट लिए । भारतकाे १० विकेट नै स्पिनरले लिए ।

भारतले अब सुपर फोरको अन्तिम खेलमा शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्काबीचको खेलबाट लाग्नेछ । यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ । यदि वर्षाका कारण खेल नभएमा श्रीलङ्का नेट रनरेटमा अघि रहँदै फाइनलमा पुग्नेछ । बङ्गलादेश भने दुवै खेल हार्दै बाहिरिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

२७ भाद्र २०८०, बुधबार ०१:०८ मा प्रकाशित
Nabintech