१२ श्रावण २०८१, शनिबार

सिङमा हरियो रङ लगाइएका चौपाया खरिद गर्न आग्रह

फाेर्स दैनिक

काठमाडौँ महानगरपालिकाले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । आगामी असोज २४ देखि दसैँसम्म चौपायाको स्वास्थ्य परीक्षण गरिने काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।

विभागका प्रमुख डा. अवधेश झाले चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यसहित महानगरपालिकाले खसीबोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो । विगतमा दसैँमा विभिन्न रोगले ग्रस्त पशुको मासु बिक्री गरेको पाइएकाले यो वर्ष पशुको स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार खसीबोकालगायतको चौपाया बिक्री गरिने मुख्य बजारका रूपमा रहेको कलङ्की, प्रदर्शनीमार्गस्थित टुकुचा खोला किनार, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गरिने छ ।

पशु चिकित्सक, सहायक चिकित्सकसहित सात जनाको टोलीले स्वास्थ्य परीक्षण तथा जाँच गर्ने विभाग प्रमुख डा. झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा स्वस्थ खसीबोकालगायतका चौपायाको सिङमा हरियो रङ लगाइने छ भने अस्वस्थको सिङमा रातो । सिङमा हरियो रङ लगाइएको चौपाया मात्र खरिद गर्न महानगरपालिकाले सबैसँग आग्रह गर्दछ ।”

२१ आश्विन २०८०, आईतवार ०७:२८ मा प्रकाशित
Nabintech