१२ श्रावण २०८१, शनिबार

अर्थतन्त्रमा पैसा नभएको होइन, पैसा चल्न सकेको छैन : अर्थमन्त्री महत

फाेर्स दैनिक

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा १५ औँ संस्करणको नाडा अटो शो २०२३ उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपभोगिताबाट मात्रै देशको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायबाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने जिकिर गर्नुभयाे । उहाँले देशको आर्थिक गतिविधि बिस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँले आर्थिक गतिविधि अगाडि बढ्ने सङ्केतहरू देखापरेको भन्दै पछिल्लो समय देशको बाह्य मुद्राको सञ्चिति सुधार, पर्यटन वृद्धि भएको बताउनुभयाे । अर्थतन्त्र सहज बाटोमा जाने गरी निजी क्षेत्रले पनि बहस थाल्नु आवश्यक रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘निजी क्षेत्र नै आर्थिक रूपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा सरकार विश्वास राख्छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपभोगिताबाट मात्रै देशको आर्थिक वृद्धि सम्भव छ । सरकारले निजी क्षेत्रको महत्त्वलाई उच्च प्राथमिकता दिएकाे छ । देशको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । आर्थिक गतिविधि अगाडि बढ्ने सङ्केतहरू देखापरेका छन् । अर्थतन्त्रमा पैसा नभएको होइन । पैसा चल्न सकेको छैन, घुम्न जरुरी छ ।’

अर्थमन्त्रीले पहिले गाडीलाई विलासिताका साधन मानेर कर लगाउने गरिएको भए पनि अब त्यस्तो सोच्न राख्न आवश्यक नरहेको बताउनुभयो । विद्युतीय गाडीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अङ्गीकार गरिरहेकाे उहाँले उल्लेख गर्नुभयो । देशभित्रै गाडी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइ छ ।

अर्थमन्त्री महतले विद्युतीय गाडीमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताउनुभयो । उहाँले विद्युतीय गाडीलाई सहज बनाउनका लागि सरकारले चार्जिङ स्टेशन बनाइरहेकाे बताउनुभयो । अब सार्वजनिक र ढुवानीका गाडीलाई पनि विद्युतीय गाडीकाे रूपमा लैजान आवश्यक रहेको उहाँले बताउनुभयो ।

२७ भाद्र २०८०, बुधबार ०१:११ मा प्रकाशित
Nabintech