५ जेष्ठ २०८१, शनिबार

कपिलवस्तुमा पहिलो पटक डिआर उपचार केन्द्र

फाेर्स दैनिक

कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।

औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगका बिरामीहरू उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्रको उद्घाटन गरिएको हो ।

राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माका अनुसार लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो उपचार केन्द्रको रूपमा चन्द्रौटामा सुरु गरिएको बताउनुभयो । उहाँले नेपालभर २३ वटा डिआर सेवा ८६ वटा उपकेन्द्रहरू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारेको छ ।’’ उपचार केन्द्र र उपकेन्द्रहरू गाउँ स्तरमा स्थापना गर्ने योजना अनुसार प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाका अनुसार सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने ताउनुभयो । कपिलवस्तु जिल्ला मात्र नभई छिमेकी जिल्लाका बिरामीहरूलाई समेत सहज हुने उहाँले बताउनुभयो । अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी रूपमा प्रदान गर्ने थापाले विश्वास छ । केही दिनमै २४ औँ घण्टामा सेवा प्रवाह तथा पोस्टमार्टम गर्न व्यवस्था मिलाइने थापाको भनाइ छ ।
शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चूडामणि भट्टराईका अनुसार डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुने बताउनुभयो ।

‘‘क्षयरोगका बिरामीको औषधिले काम गरे/नगरेको विषय परीक्षण प्रयोगशालामा हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।’’

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ७२७, २०७६/०७७ मा ५८५, २०७७/०७८ मा ६३३, २०७८/०७९ मा ९०० र २०७९/०८० मा ९१४ जनामा क्षयरोगको सङ्क्रमण थियो ।

२७ आश्विन २०८०, शनिबार ०५:४७ मा प्रकाशित
Nabintech