५ जेष्ठ २०८१, शनिबार

सामुदायिक प्राकृतिक चिकित्सालयमा विरामीको चाप

फाेर्स दैनिक

नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको विश्वास बढ्दै जान थालेपछि विरामीको चाप बढेको छ ।आधुनिक पद्धतिबाट निको हुन नसकेका रोगहरु चिकित्सालयको उपचार विरामीका लागि आशाको किरण बनेको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिनेभएकाले यसले कुनै साइडइफेक्ट नगर्ने चिकित्सकको भनाइ छ ।

राष्ट्रिय लोक दोहोरी गायकद्वय पशुपति शर्मा र रमेशराज भट्टराई प्राकृतिक चिकित्सालयमा उपचार पश्चात् घर फर्किनुभएको छ । ठूला अस्पतालमा निको नभएको रोग प्राकृतिक चिकित्सालयमा दुई साताको उपचारपश्चात निको भएको गायक रमेशराज भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयदेखि नसा, ढाड र खुट्टा दुख्ने समस्याले दैनिकीमा असर पारिरहेको थियो । यहाँ उपचार गरेपछि सहज महसुस गरेको छु । खानपानमा अनुशासित भइयो र हरेक दिन व्यायाम गरियो भने दीर्घरोगी भएर बस्न पर्दैन भन्ने पाठ पनि सिकें ।”

कोहलपुर घर भएकी ५३ वर्षकी लक्ष्मी सुवेदी आजभोलि स्वास्थ्यमा केही समस्या देखियो भने प्राकृतिक चिकित्सालय आउनुहुन्छ । वर्षौदेखिको थाइराइडसहितका विभिन्न समस्या समाधान नभएपछि वर्षमा एक पटक उपचारका लागि रजहर आउनेगरेको उहाँको भनाइ छ ।

यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिने गरेको छ । चकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । माटो दलेर गरिने उपचार निकै प्रभावकारी देखिएको विरामीको बुझाइ छ । माटो दलेर गरिने उपचार विधिले ६ वर्षमा चारसय जनाभन्दा बढी विरामी निको भइसकेको अस्पतालका निर्देशक डा विनोद पौडेलले बताउनुभयो । माटो दल्नुका अतिरिक्त नियमित योगा, ध्यान, आहारविहारमा सन्तुलनलगायतका प्राकृतिक चिकित्सा पद्धति अपनाउने गरिन्छ ।

चिकित्सालयमा औषधिको प्रयोग भने वर्जित छ । २०६४ मा स्थापित चिकित्सालयमा हालसम्म यो विधिबाट उपचार गराउनेको संख्या ३५ हजार नाघिसकेको छ । खेती नगरिएको जमिनभन्दा ६ फिट तलको माटो ल्याएर त्यसको फोहोर हटाएर दीर्घरोगीको शरीरमा दलेर उपचार गर्ने गरिएको उहाँको भनाइ छ । त्यसले शरीरभित्रको फोहोर सोसेर निरोगी बनाउने गरेको पौडेलले बताउनुभयो ।

दस बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई २०६८ सालमा नेपाल सरकारबाट जग्गाको भोगाधिकार प्राप्त भएको थियो । सुरुवाती दिनमा खासै बिरामीको चासो र विश्वास नदेखीए पनि पछिल्लो समय विरामीहरुको विश्वास बढ्नुका साथै अस्पतालमा चाप बढेको डाक्टर पौडेलको भनाइ छ ।

आर्थिक वर्ष २०७४ र ०७५ मा आवासीय रुपमा नौ सय ६० र ओपिडि नौ सय ६० गरी कुल एक हजार नौ सय ५० जना विरामीले अस्पतालबाट उपचार लिएका छन् । हाल चिकित्सालयमा देशका विभिन्न स्थान बुटवल, पाल्पा अर्घाखाँची, नारायणगढ, चितवन, नवलपरासी, मकवानपुर, धादिडलगायतका स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने विरामीको संख्या बढ्दैगएको छ । ।

चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदैगएको छ । ५२ शैयाबाट संचालन सुरु गरिएको अस्पतालमा अहिले तीन सय शैया विस्तार गरिएको छ । अस्पतालका व्यवस्थापक हरि सापकोटाका अनुसार अहिले प्राकृतिक चिकित्सा विज्ञान शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रियाहरु अगाडि बढाइएको छ । त्यसयता ५९ हजारभन्दा बढीले उपचार गराइसकेका छन् ।

२७ आश्विन २०८०, शनिबार ०५:४९ मा प्रकाशित
Nabintech