१२ श्रावण २०८१, शनिबार

युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

फाेर्स दैनिक

युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ ।

समूह ए को अर्को खेलमा नर्वेले जर्जियालाई २–१ ले हरायो । नर्वे ७ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५–० ले हराएको छ । जितपछि पाँच खेलबाट १३ अङ्कसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ । स्वीडेनलाई ३–१ ले हराएर १३ अङ्क नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।

यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २–० ले पराजित गरेको छ । जितपछि चार खेलबाट ७ अङ्कजोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अङ्क रहेको युक्रेन तेस्रो स्थानमा छ । समूह सी को अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २–० ले हराएको छ ।

२७ भाद्र २०८०, बुधबार ११:११ मा प्रकाशित
Nabintech