१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेसको चियापान आज, एमालेको चियापान सर्‍यो

फाेर्स दैनिक

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । दसैँतिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो ।

प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भन्नुभयो, “बिपीले तत्कालीन अवस्थामा राजनीतिक संवाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्द र एकता कायम गर्न योगदान पु¥याउने छ ।”

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।

पार्टी नेता अर्जुननरसिंह केसीले बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसैँलगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसको मूल कारण सद्भावना, शुभकामना, सबै पक्षका बिचमा मेलमिलाप गर्ने मनोवैज्ञानिक वातावरण बनाउन सकियोस्, हामीभित्र भएका तिक्तता, वादविवादलाई पर राखेर सम्बन्धलाई सहज रूपबाट सहमति निर्माण गर्न सजिलो होस् भन्ने हो ।”

अहिले पनि त्यत्तिकै मेलमिलापको आवश्यकता रहेको बताउँदै उहाँले गौरवका रूपमा रहेको विविधताबिचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गर्नुभयो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिनुभएको थियो । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको हो । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

एमालेको चियापान सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चियापान कार्यक्रम कात्तिक १५ गतेका लागि सरेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दसैँतिहार, छठलगायत पर्वको अवसरमा कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरिएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम कात्तिक १५ गते आयोजना गर्ने निर्णय गरेको एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने छ ।

११ कार्तिक २०८०, शनिबार ०८:०३ मा प्रकाशित
Nabintech