१२ श्रावण २०८१, शनिबार

कमला नदीमा पक्की पुल

फाेर्स दैनिक

सिन्धुलीको कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी बागमती प्रदेश सरकारको सहयोगमा कमला नदीमा पक्की पुल निर्माण सम्पन्न भएको छ । यो पुल निर्माण सम्पन्नसँगै कमला नदीमा सञ्चालनमा आएका पक्की पुलको सङ्ख्या सात पुगेको छ । बागमती प्रदेश सरकारको करिब २० करोड २० लाख रुपियाँ लगानीमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो पक्कीपुल हालै निर्माण सम्पन्न भएको प्रादेशिक सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुल निर्माणका लागि सूर्य एन्ड सन् प्रालिले २०७६ साल जेठमा, २०७८ साल पुस मसान्तमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको भए पनि कोभिडलगायत कारणले समयमा निर्माण सम्पन्न हुन सकेको थिएन । पटक पटक म्याद थप गरी पुल निर्माण सम्पन्न भएको हो ।

कुनै बेला एउटा झोलुङ्गे पुलसमेत देख्न मुस्किलपर्ने सिन्धुली जिल्लाभित्र ४० किलोमिटर लम्बाइको बहाव क्षेत्र रहेको कमला नदीमा यतिबेला पक्की पुलमय देख्दा स्थानीयवासी दङ्ग परेका छन् । जिल्लाकै सबैभन्दा ठुलो नदीका रूपमा रहेको कमला नदीमा एक दशकको अवधिमा छ वटा पक्की निर्माण भई सञ्चालनमा आएका छन् । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ८ र १० लाई जोड्ने गरी कमला नदीको माईस्थानमा भने पक्की पुल २०५४ सालतिर बनेको हो ।

कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२, रतनपुर र वडा नं. ३ झुङ्गालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टा“डी र वडा नं ९ को हात्तीवन गा“छी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्की पुल निर्माण भई सञ्चालनमा आइसकेको छ । कमलामाई नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष कैलाश ढुङ्गेल कमला नदीमा पक्की पुल निर्माणसँगै स्थानीयमा खुसियाली छाएको बताउनुहुन्छ । “पुल नहुँदा यस क्षेत्रका मानिसले नदी वारपार गर्दा बर्सेनि ज्यान गुमाउनुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “अहिले सबै समस्याबाट मुक्ति पाइएको छ । किसानको उत्पादन पनि बेचबिखनमा टेवा पुगेको छ ।”

कमला नदीको शिर (मुहान) रहेको ग्वाङखोलमा पनि बागमती प्रदेश सरकारकै लगानीमा तीन वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ । कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकाल ग्वाङखोलामा कमलामाई नगरपालिकाभित्र वडा न ४ र ६ लाई जोड्ने, वडा नं. ५ र ६ लाई जोड्ने गरी मधुटार पुल र कारागार पुल निर्माणाधीन रहेको जानकारी दिनुहुन्छ । सङ्घीय सरकार, प्रदेश सरकारलगायत विभिन्न दातृ निकायको सहयोगमा पछिल्लो समयमा कमला नदी, ग्वाङखोला, मरिण खोलालगायतका नदी, खोलामा तीव्र रूपमा पक्की पुल निर्माण भइरहेको उहाँले बताउनुभयो ।

११ कार्तिक २०८०, शनिबार ०८:०६ मा प्रकाशित
Nabintech