१२ श्रावण २०८१, शनिबार

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

फाेर्स दैनिक

आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।

ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय २७ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले सतक र कप्तान केन विलियम्सनले अर्धसतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मिचेलले टोलीका लागि अविजित एक सय ३४ रनको योगदान गरेका थिए ।

उनले लामो समय क्रिजमा सँघर्ष गरी एक सय १९ बलको सामना गरी सात छक्का र नौ चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले पनि ६९ रन बनाएका थिए । उनले ७३ बलमा एक छक्का र आठ चौका प्रहार गरेका थिए । तर, न्युजिल्यान्डका ओपनर ब्याट्सम्यानले भने टोलीलाई गतिलो सुरुआत दिन सकेनन् ।

ओपनर डेभोन कनवे र रचिन रविन्द्र १३—१३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान टम लाथम शून्य रनमै आउट भए भने ग्लेन फिलिप्सले टोलीको खातामा ४१ रन थपे । छैठौँ नम्बरका ब्याट्सम्यान फिलिप्सले केवल ३३ बलमा दुई छक्का र चार चौका प्रहार गरेका थिए ।

न्युजिल्यान्डका तल्लोक्रमका ब्याट्सम्यान पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि ३० रन पाएको थियो । भारतीय टोलीका बलर मोहम्मद सामी सबैभन्दा सफल रहे । उनी एक्लैले न्युजिल्यान्डका सात ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । सात विकेट लिनेक्रममा उनले ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिएका थिए ।

जसप्रित बुमराह, कुलदिप यादब र मोहम्मद सिराजले पनि एक—एक विकेट हात पारे । त्यसअघि मुम्बइस्थित वानखेड स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी सतक बनाएका थिए । उनले टोलीका लागि एक सय १७ रनको योगदान गरेका थिए । यसक्रममा उनले एक सय १३ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए ।

विराटले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान पनि तोडेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यालाई उछिनेका हुन् । न्युजिल्यान्डविरुद्धको खेलमा सतक बनाएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको सतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एकदिवसीय खेलको दुई सय ७९ पालीमा ५० सतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले सतक बनाएका थिए । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै सतक पुरा गरेका थिए । विराटले १० दिनअघि मात्र ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए । विरटाले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा सतक प्रहार गरिसकेका छन् । सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए । सचिनले टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन् ।

त्यो कीर्तिमान भने हालसम्म पनि सचिनकै नाममा छ । सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन् । बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा विराटका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि सतकीय पाली खेले । उनले टोलीका लागि एक सय पाँच रनको योगदान गरे । यसका क्रममा उनले केवल ७० बलको सामना गरी आठ छक्का र चार चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान शुभमन गिलले पनि टोलीका लागि अविजित ८० रनको योगदान गरे । उनले ६६ बलको सामना गरी तीन छक्का र आठ चौका पनि हिर्काए । त्यसअघि ७९ रन बनाउँदै उनी ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए । भारतको चौथो विकेट खसेपछि उनी पुनः क्रिजमा फर्किएका थिए । त्यसअघि कप्तान रोहित शर्माले पनि टोलीको खातामा ४७ रन थपेका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका कप्तान रोहितले केवल २९ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

विकेटकिपर ब्याट्सम्यान केएल राहुलले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे । उनले केवल २० बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । भारतले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय ब्याट्सम्यानसामु न्युजिल्यान्डका बलरहरु निरिह सावित भए । न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिए । ट्रेन्ट बोल्टले एक विकेट हात पारे । अन्य कुनै पनि किविज बलरले विकेट लिन सकेनन् । पाँच ओभरभन्दा बढी बलिङ गर्ने न्युजिल्यान्डका हरेक बलरले ५० भन्दा बढी रन खर्चिएका थिए ।

३० कार्तिक २०८०, बिहीबार ०७:१७ मा प्रकाशित
Nabintech