५ जेष्ठ २०८१, शनिबार

२७ हजार कैदीबन्दीलाई ध्यान शिविर सञ्चालनको तयारी

फाेर्स दैनिक

सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

आफ्नो मनलाई बिकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू विपश्यना ध्यानको अभ्यास गर्नेहरूको संख्या दिनानुदिनु बढिरहेको समयमा गृह मन्त्रालयले ध्यान दशदिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले नेपाल विपश्यना केन्द्रसँग समन्वय गरी कारागारहरूमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कारागारमा ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । विभिन्न देशका कारागारमा सञ्चालन गर्दै आएको यो शिविरले कैदीमा पारेको सकारात्मक प्रभावका रूपमा लिएर मन्त्रालयले यसलाई देशभरैका कारागारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल र केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योतिसहितको टोलीबीच छलफल भई ध्यान शिविरको कार्ययोजना तयार गरेको थियो ।

ललितपुरको नख्खु कारागारबाट सो शिविर सञ्चालन गरिने छ मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक महिनाभित्र शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ । केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले ध्यान साधना गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने धर्मसेवक सुशील शाहले जानकारी दिए ।

दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने मन्त्रालयले जनाएको छ । सरकारले २२ वर्षपछि नख्खु कारागार ध्यान शिविर सञ्चालन गर्न लागिएको हो । यसअघि २०५५ सालमा २० जना र २०५७ सालमा २३ जना नख्खु कारागारका कैदीबन्दीलाई ध्यान गराइएको थियो । त्यस्तै, यसअघि भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् ।

विपश्यना ध्यान आजभन्दा २५ सयवर्ष अघि गौतम बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । त्यसयता गुरु–शिष्य परम्पराअनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हुँदै आएको छ । यो ध्यानको वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ ।

बूढानीलकण्ठ, मुहानपोखरीस्थित धर्मश्रृंग नेपालमा विपश्यना केन्द्रले हरेक महिना १ र १४ तारेखमा नियमित रूपमा इच्छुकहरूका लागि ध्यान गराउँदै आएको छ । विसं २०३७ देखि नेपालमा विपश्यना ध्यान शिविरहरू सञ्चालन हुँदै आएका छन् । देशभर विभिन्न ३० वटाभन्दा बढी विपश्यना ध्यान केन्द्र छन् ।

नेपालमा अन्यका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना त्यति अभ्यासरत छैन । नेपालमा नख्खु जेलमै २०५२ र ५३ सालमा दुईपटक विपश्यना शिविर सञ्चालन भएको थिए । तर, त्यसको निरन्तरता हुन सकेन । गत वर्ष भीमफेदी कारागारमा यो शिविर सञ्चालन गरिएको थियो ।

१३ मंसिर २०८०, बुधबार ०७:२३ मा प्रकाशित
Nabintech