१२ श्रावण २०८१, शनिबार

बार्सिलोना च्याम्पियिन्स लिगको नकआउट चरणमा, पीएसजी बराबरीमा रोकियो

फाेर्स दैनिक

बार्सिलोना च्याम्पियिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा पोर्टोलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।१–० गोलले पछि परेको स्थितिमा बार्साले पुनरागमन जित दर्ता गरेको थियो। ३० औं मिनेटमा पोर्चुगिच क्लबका लागि ब्राजिलियिन विंगर पेपेले गोल गरेका थिए। तर स्पेनिस जायन्टले खेलमा फर्कन धेरै समय लगाएन। ३२ औं मिनेटमै जोवाओ कान्सेलोले गोल गर्दै खेल बराबरी गरे।

पोर्टो गोलकिपर इनाकी पेनाले केही उत्कृष्ट बचाउ गरेपछि बार्साले पहिलो हाफमा अग्रता लिन सकेन। ५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै जाभी हर्नान्डेजको टोलीलाई जित दिलाए।बार्साले सन् २०२०/२१ को सिजन पछि पहिलो पटक नकआउटमा चरणमा स्थान बनाएको हो। समूह एचमा रहेको बार्सा पाँच खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ।

दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९–९ अंक छ । शाख्तर र पोर्टोबीचको खेलले यो समूहबाट अन्तिम १६ पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।गएराति नै बोरुसिया डर्टमन्डले एसी मिलानलाई ३–१ गोलले हराउदै नकआउट चरणमा स्थान बनाएको छ। चौथो मिनेटमै घरेलु टोली मिलानले पाएको पेनाल्टीमा ओलिभर जिरुड चुकेका थिए। दशौँ मिनेटमा मार्कर रेउसले पेनाल्टीमार्फत नै डर्टमन्डलाई अग्रता दिलाए।

३७ औं मिनेटमा सामुएल चुक्वेजीले बराबरी गोल फर्काए। ५९ औं मिनेटमा १९ वर्षीय जेमी बिनो गेटिङसले र ६९ औं मिनेटमा करिम आडेयमीले गोल गरेपछि डर्टमन्ड समूह एफबाट अन्तिम १६ मा पुगेको हो।फेनोर्डमाथि एट्लेटिको मड्रिड ३–१ गोलको जित हात पार्दै समूह ईबाट नकआउट पुगेको छ। यसै समूहबाट लासियोले पनि समूह चरण पार गर्‍यो।

गएरातिनै भएको खेलमा उसले सेल्टिकलाई २–० गोलले पराजित गरेको थियो। यसअघि नै नकआउट चरणमा पुगेको म्यान्चेस्टर सिटीले आरबी लाइबजीङलाई ३–२ गोलले हरायो। यस्तै पेरिस सेन्ट जर्मेन पीएसजी घरेलु मैदानमा न्युक्यासलसँग १–१ बराबरीमा रोकियो।

१३ मंसिर २०८०, बुधबार ०७:३५ मा प्रकाशित
Nabintech