१२ असार २०८१, मंगलवार

किसानले तरुलको भाउ नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य

फाेर्स दैनिक

सुनसरी जिल्लाको महेन्द्रनगर, प्रकाशपुर, राजावास र भोक्राहाका किसानले तरुलको भाउ नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १० वडा र भोक्राहाका किसानहरूले उत्पादन गरेको तरुलले भाउ नपाउँदा सस्तोमा बिक्री गर्नु परेको वराहक्षेत्र ८ का कृषक कृष्ण खड्काले बताउनु भयो ।

सदुपयोग नगरिएको भिटा बारीमा तरुल खेती लगाउँदै आएका सुनसरीका कृषकहरूले व्यावसायिक रूपमै बारीमै खेती गर्न थालेपछि बजार पाउन छाडेको छ । ग्रामीण क्षेत्रका किसानहरूले १० वर्षदेखि प्रकाशपुर र राजावासका किसानहरूले तरुल बेचेर राम्रो आम्दानी लिँदै आएका थिए । वराहक्षेत्र ९ का व्यापारी सुरेश शाह भन्नुहुन्छ “पहिले खानका लागि मात्रै तरुल रोप्दै आएका किसानहरूले व्यावसायिक रूपमै तरुल खेती गर्न थालेपछि भाउ कम भएको छ । अरू तरकारीहरू पनि बजारमा सस्तिएकाले तरुलको भाउमाथि उठ्न सकेको छैन ।”

जिल्लामा उत्पादित तरुलहरूको मुख्य बजार काठमाडौँ हो । माघे सङ्क्रान्तिलाई लक्षित गरेर मङ्सिर अन्तिम साताबाट तरुलको किनबेच सुरु हुँदै आएकोमा यस वर्ष तरुल खरिद गर्ने व्यपारीहरुको चलहपल नहुँदा तरुलको किनबेच नै न्यून रहेको प्रकाशपुरका कृषक हरिप्रिया पौडेलले बताउनुभयो । किसानहरूले तरुल उत्पादन गरेपनि यस वर्ष तरुलको भाउ नहुँदा सस्तो मूल्यमा बिक्री गर्नु परेको उहाँको भनाइ छ ।

वर्षौँदेखि तरुल खेतीबाट आम्दानी गर्दै आएका महेन्द्रनगर शुक्रबारेका किसान कृष्ण खड्काले यस वर्ष प्रतिकेजी ३५ रुपियाँ केजीले मात्रै व्यापारीले भाउ लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष ४० रुपियाँ केजीले बिक्री गरेको थिए । सुरुमै भाउ तोकेकाले तरुल ३५ रुपियाँले पाए, तर अहिले २५ रुपियाँ केजी भएको छ ।”

गत वर्ष चार कठ्ठामा तरुल खेती गरेकोमा यस पटक नौ कठ्ठा क्षेत्रफलमा तरुल लगाउनु भएका खड्काले एक लाख ५० हजारको तरुल बेच्नु भएको छ ।

गत वर्ष ८० टन तरुल काठमाडौँ पठाउनुभएका राजावासका व्यापारी सुरेश साहले यस वर्ष २० टन तरुल मात्रै काठमाडौँ पठाएको बताउनुभयो उहाँले भन्नुभयो, “धेरै किसानहरूले तरुलको भाउ राम्रो नपाएकाले किसानहरूले तरुल नखनी बारीमै छोडेका छन् ।”

प्रकाशपुरका कृषक वेधनीधी पौडेलले यस पटक तरुल नै नखनी आउँदो वर्ष खन्ने बताउनुभयो । उहाँले भन्नु भयो, “पच्चिस रुपियाँ किलोमा तरुल दिनुभन्दा एक वर्ष बारीमै छोडेर अर्को साल खन्ने ।” तरुलबाट घाटा नभए पनि गत वर्षभन्दा भाउ कम हुँदा राम्रो आम्दानी नभएको कृषक हुकुमाया बस्नेतले बाउनुभयो ।

पानी नजम्ने र बलौटे दोमट माटोमा तरुल फस्टाएर आउने हुँदा तरुल उत्पादन राम्रै हुँदै आएको थियो । थोरै जग्गामा पनि किसानले तरुल खेती गरेर राम्रो उत्पादनसँगै आम्दानी गर्दै आएका थिए ।

तरुल माघे सङ्क्रान्ति दिन हिन्दु परम्परा अनुसार तरुल खाने र तरकारीको रूपमा समेत खाने हुँदा तरुलको माग अत्यधिक हुने गरेको छ । माघ फाल्गुनमा रोपेपछि एक वर्षमा मात्रै तरुल खान योग्य हुन्छ । तरुललाई सेपिलो र घमाइलो दुई ठाउँमा तरुल फलाउन सकिन्छ । मलिलो र दमोट माटोमा तरुल फष्टाएर आउने गरेको छ ।

तरुलका विभिन्न जातहरू हुने भए पनि किसानहरूले हात्तीपाइले, रातो तरुल रोप्दै आएका छन् । तराईमा फागुनदेखि वैशाखसम्म तरुल लगाउन सकिन्छ । तरुल रोपेपछि एक वर्षमा मात्रै खन्ने हुन्छ । तरुल खेतीलाई धेरै चिस्यान पनि नचाहिने र अन्य खेती जस्तो गोडमेल गर्नु नपर्ने भएकाले पनि पछिल्लो समय किसानहरू व्यावसायिक रूपमै तरुल खेती गर्दै आएका थिए ।

१७ पुष २०८०, मंगलवार २१:२२ मा प्रकाशित
Nabintech