६ जेष्ठ २०८१, आईतवार

अत्यावश्यक खाद्यान्नको लगत सङ्कलन गरिँदै

फाेर्स दैनिक

सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्यान्नको लगत सङ्कलनको काम सुरु गरेको छ । मुलुकमा अत्यावश्यक खाद्य पदार्थको माग अनुसार उत्पादनको अवस्था र अपुग परिमाणबारे पनि यथार्थ जानकारी प्राप्त गर्न विभिन्न जिल्लामा गएर लगत लिन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

घरायसी र औद्योगिक प्रयोजनमा अति आवश्यक खाद्य पदार्थमध्ये कुन खाद्य पदार्थ कति परिमाणमा खपत भइरहेको छ र माग अनुसार स्वदेशमै कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी लिन लगत लिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले खाद्यान्न उत्पादनको अवस्था, माग आपूर्ति र आयात निर्यातको अवस्थाको के छ भनेर लगत सङ्कलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा धान, चामल, गहुँ मकै, खाने तेल, आलु, प्याज, माछामासु, चिनी र दुधको लगत सङ्कलन गर्न लागिएको उहाँको भनाइ छ ।

“हामीकहाँ वास्तविक तथ्याङ्कको ठुलो अभाव छ । यसले गर्दा घरायसी र औद्योगिक प्रयोजनका लागि कुन खाद्य पदार्थको कति माग छ, यसमध्ये स्वदेशमा कति उत्पादन हुन्छ र अपुग कति छ भन्ने आकलन हुन सकेको छैन,” प्रवक्ता ठाकुरले भन्नुभयो, “यस्ता विषयमा वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्ने र सोही तथ्याङ्कका आधारमा आगामी रणनीति तय गर्न लगत सङ्कलन गर्न सुरु गरेका छौँ ।”

पोखरा, वीरगन्ज, विराटनगर, जनकपुर, भरतपुरलगायतका जिल्लामा गएर सम्बन्धित प्रदेशका मन्त्री, उद्योगी व्यवसायीसँग खाद्यान्नको लगत सङ्कलन गर्ने काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । उहाँका अनुसार सीमा नाकाबाट गैरकानुनी तवरबाट आयात हुने खाद्यान्नको समेत लगत राखिने छ । खाद्यान्नको लगत सङ्कलन गरी प्रतिवेदन वैशाख अन्तिसम्ममा सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अति आवश्यक खाद्य पदार्थको स्वदेशमा उपलब्धता र आयात गर्नुपर्ने अवस्थाबारे उद्योगी व्यवसायी र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको फरक फरक तथ्याङ्क भेटिएको छ ।

यथार्थ तथ्याङ्क सङ्कलनका लागि मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र कृषि सेवा विभागसँग छलफल पनि गरिरहेको छ ।

एक व्यक्तिलाई एक दिनका लागि चाहिने चामल, दाल, तरकारी, खाने तेल, नुन, चिनी, दुध, माछामासु, मकै, गहुँलगायतका खाद्य पदार्थका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पशु सेवा विभागसँग स्वदेशमा माछामासु, दुधको उपलब्धता र अपुग परिमाण तथा कृषि विभागसँग स्वदेशमा चामल, गहुँ, मकै, तरकारी, खाने तेल पेल्न आवश्यक पर्ने कच्चा पदार्थको उपलब्धता र अपुग परिमाणबारे छलफल गरिएको हो ।

लगत सङ्कलनपछि आवश्यकताभन्दा बढी परिमाणमा वस्तु आयात गर्ने तर व्यवसायीले लुकाउने र कार्टेलिङ गर्ने गरेमा सहज रूपमा पत्ता लाग्ने मन्त्रालयको विश्वास छ ।

मन्त्रालयका अनुसार नेपालमा वार्षिक ८० लाख टन धानको माग छ । मानिसलाई मात्रै खुवाउन भने ६७ लाख टन धान आवश्यक हुन्छ ।

हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारी मात्रै धान उत्पादन भइरहेको छ । माग अनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ । एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । उपभोग र उद्योगलाई गरी वार्षिक ४८ लाख टन चामल आवश्यकता छ तर अहिले ३० लाख ६० हजार टन चामल मात्रै उत्पादन भइरहेको छ । चामल मात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव छ । अपुग भएको धान विदेशबाट आयात हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७५ लाख रुपियाँ बराबरको धान र १५ अर्ब ९१ करोड रुपियाँ बराबरको चामल आयात भएको थियो ।

१७ पुष २०८०, मंगलवार २१:२४ मा प्रकाशित
Nabintech